कायममुकायम गभर्नर निलम ढुंगानाले अर्थतन्त्रका सूचकहरुमा क्रमिक सुधार हुँदै गएको बताएकी छन् ।
नेपाल राष्ट्र बैंकको ७०औं वार्षिक उत्सवको अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुद्रास्फीतिमा सुधार आएको, कुल विदेशी सञ्चितिसमेत पर्याप्त रहेको, निजी क्षेत्रको कर्जा विस्तार प्रभावकारी बन्दै गएको बताएकी हुन् ।
बैंक तथा वित्तीय संस्थाहरुमा गैरसम्पत्ति बढ्दै गए पनि बैंकहरुको कर्जा प्रवाह बढेको बताउँदै उनले लगानीलाई वातावरणमैत्री बनाउन नियामकीय सहुलियत दिइएको उल्लेख गरिन् । उनले भुक्तानी प्रणालीको सुरक्षामा राष्ट्र बैंकले काम गरेको, वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमहरु प्रभावकारी रुपमा अघि बढाइएको बताइन् ।
डेपुटी गभर्नर बमबहादुर मिश्रले केही आन्तरिक, बाह्य कारणले अर्थतन्त्रमा केही समस्या देखिए पनि पछिल्लो समय राष्ट्र बैंकले लिएका नीतिहरुको सफल कार्यान्वयनका कारण अर्थतन्त्र चलायमान हुँदै गएको बताए । उनले मुद्रास्फीति दर नियन्त्रणमा रहेको, विदेशी सञ्चिति बचतमै रहेको र अन्य अर्थतन्त्रका सूचांकहरु पनि सकारात्मक हुँदै गएको उल्लेख गरे ।
राष्ट्र बैंकले वार्षिक उत्सवको अवसरमा अर्थविद् तथा पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीलाई सम्मानसमेत गरेको छ । कार्यक्रममा बोल्दै पूर्वगभर्नर क्षेत्रीले सस्तो लोकप्रियताका लागि कतिपय वित्त नीतिहरु शासकहरुले लिने भएकाले त्यसलाई मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले नियन्त्रण गर्न जरुरी रहेको बताए । उनले कर्जा तिर्नु पर्दैन भनेर प्रचार हुने गरेको भन्दै त्यसलाई राष्ट्र बैंकले चिर्न जरुरी रहेको उल्लेख गरे ।
कार्यक्रममा नयाँ गभर्नर नियुक्ति पेचिलो बनेको र स्वायत्ततामाथि आँच आउने काम भएको भन्दै राष्ट्र बैंकका कर्मचारी युनियनका प्रतिनिधिहरुले छिटो गभर्नर नियुक्त गर्न सरकारसँग माग गरेका छन् ।