नेपाल क्रिकेट संघ (क्यान)ले महिला टि-ट्वान्टी विश्वकप एसिया क्वालिफायरका लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ ।
टोलीको कप्तानमा इन्दु बर्मा र उप कप्तानमा यु-१९ टोली कप्तान पूजा महतो छिन् । पछिल्लो पटक युगाण्डा सिरिज खेलेको टोलीमा केही परिवर्तन यो पटक गरिएको छ ।
कविता कुँवर चोटमुक्त भएर टोलीमा फर्किएकी छन् । यस्तै रुबी पोद्दार, मनिषा उपाध्याय र सवनम राई टोली कमब्याक गर्न सफल रहे । पछिल्लो सिरिजमा राष्ट्रिय टिममा रहेक ममता चौधरी, एलिशा यादव, सना प्रवीन र रचना चौधरी टिममा स्थान बनाउन असफल रहे । बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट अन्तिम टोली चयन गरिएको हो । अनुभवी सीता राना मगरसँगै काजल श्रेष्ठ, सोमु विष्ट, यशोदा विष्ट, सिमाना केसी र रचना चौधरी भने अन्तिम १४ मा स्थान बनाउन सकेनन् ।
मे ७ देखि २१ सम्म थाइल्याण्डमा हुने आईसीसी महिला टी-२० विश्वकप एसिया क्वालिफायरमा नेपालसहित ९ राष्ट्रको सहभागिता रहनेछ । प्रतियोगिताको शीर्ष दुई टोलीले ग्लोबल क्वालिफायरमा स्थान बनाउने प्रावधना रहेको छ ।
ग्लोबल क्वालिफायरमा भने १० राष्ट्रबीच प्रतिस्पर्धा हुनेछ । यहाँबाट शीर्ष चार टोली अर्को वर्ष इङ्गग्ल्यान्डमा हुने महिला टि ट्वान्टी विश्वकपमा छनोट हुनेछन् ।
नेपाली टोली :
इन्दु वर्मा (कप्तान), पूजा महतो (उप-कप्तान), बिन्दु रावल, राजमती ऐरी, कविता कुँवर, मनीषा उपाध्याय, कविता जोशी, रुबी पोद्दार, सवनम राई, रिया शर्मा, रुबिना छेत्री, सम्झना खड्का, रोमा थापा, ईश्वरी विष्ट ।