यू-१७ महिला एसियन कप छनोट : नेपाल कठिन समूहमा

Yangle News
Yangle News
२०८२ साउन २२ गते
यू-१७ महिला एसियन कप छनोट : नेपाल कठिन समूहमा

नेपाल एएफसी अन्डर सेभेन्टिन महिला एसियन कप-२०२६ छनोटको कठिन समूहमा परेको छ ।

मलेसियाको क्वालालम्पुरस्थित एसियाली फुटबल महासंघ (एएफसी)को मुख्यालयमा आज भएको ‘ड्र’अनुसार नेपाल समूह ‘एफ’मा परेको हो । यो समूहमा सन् २००३ को पहिलो संस्करणमा तेस्रो भएको थाइल्यान्ड र तुर्कमेनिस्तान छन् । यो समूहको खेल थाइल्यान्डमा हुनेछ ।

सहभागी २७ टोलीलाई ८ समूहमा विभाजन गरिएको थियो । तीन समूहमा समान चार टोली छन् । अन्य पाँच समूहमा भने समान तीन टोली राखिएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)का नेपालसँगै भारत र बंगलादेश मात्रै छनोट चरणमा समावेश छन् । नेपालले हालसम्म समूह चरण पार गर्न सकेको छैन । भारत समूह ‘जी’ र बंगलादेश समूह ‘एच’मा परेको छ । छनोट चरण अक्टोबर १३ देखि १७ सम्म सिंगल राउन्ड रोबिन फर्म्याटमा हुनेछ ।

समूह विजेता आठ टोली फाइनल चरणमा पुग्नेछन् । यसअघि नै मुख्य प्रतियोगितामा साबिक विजेता उत्तर कोरियासँगै उपविजेता जापान, दक्षिण कोरिया र आयोजक चीनले फाइनल चरणमा स्थान बनाइसकेका छन् । फाइनल चरण २०२६ अप्रिल ३० देखि मे १७ सम्म चीनमा हुनेछ ।