निर्वाचन आयोगले भोलि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । चुनावको पूर्वसन्ध्यामा आज आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभरका सबै मतदान केन्द्रहरूमा आवश्यक चुनाव सामग्रीहरू पुगिसकेको जानकारी दिए ।
उनले गत भदौ २३ र २४ गतेको नवयुवा आन्दोलनपछि सिर्जना भएको विशिष्ट परिस्थितिमा घोषणा भएको चुनावलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन आयोग पूर्णरूपमा क्रियाशील रहेको स्पष्ट पारे । मतदान केन्द्रहरूको निर्माण तथा व्यवस्थापन कार्य सम्पन्न भइसकेको जानकारी दिँदै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले मतदान स्थलहरूलाई लैंगिक तथा अपांगमैत्री बनाइएको र सबै मतदाताको सहज पहुँच सुनिश्चित गरिएको उल्लेख गरे ।
मतदाताले निर्बाध रूपमा आफूलाई मन परेको उम्मेदवार र राजनीतिक दललाई मतदान गर्न पाउने गरी शान्ति सुरक्षाको अत्यन्तै भरपर्दो प्रबन्ध मिलाइएको आयोगले जनाएको छ । आयोगले सम्पूर्ण मतदाताहरूलाई यस ऐतिहासिक लोकतान्त्रिक अभ्यासमा उत्साहपूर्वक सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न अपील गरेको छ ।
आयोगले मतपेटिका संकलन भएको २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने दाबी दोहोर्याएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आयोगले गरेको वाचा पूरा गर्ने जिकिर गर्दै उनले मतपेटिका संकलन पनि छिटोभन्दा छिटो गर्न प्रयास गर्ने बताए । उनले भने, ‘सडक पुगेको ठाउँमा गाडीबाटै मतपेटिका ढुवानी हुन्छ । छोटो दुरीका लागि बोकेर पनि ढुवानी हुन्छ ।’ हुम्ला र डोल्पासहित १५ जिल्लाका ६१ ठाउँबाट भने हेलिकप्टरमार्फत मतपेटिका संकलन गरिने भन्दै भण्डारीले हेलिकप्टरबाट ढुवानी गर्दा मतपेटिका साटिने भनी चलाइएका हल्लाहरू पूर्णतः निराधार र भ्रामक रहेको स्पष्ट पारे ।
मतदान सम्पन्न भएपछि राजनीतिक दल र उम्मेदवारका प्रतिनिधिहरूको रोहबरमा मतपेटिका सिल गरिने र त्यसमा प्रतिनिधिहरूको आफ्नै चिह्नअंकित लाहाछाप लगाइने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताए । मतपेटिका सुरक्षाका लागि बाहिरी घेरामा नेपाली सेना, बीचको घेरामा सशस्त्र प्रहरी बल र भित्री घेरामा नेपाल प्रहरी रहने पुरानै व्यवस्था कायम रहेको उनले जानकारी दिए ।
दुर्गम क्षेत्रबाट मतपेटिका ल्याउन नेपाली सेनाको भरपर्दो र सुरक्षित हेलिकोप्टर प्रयोग गर्न लागिएको भन्दै उनले सेनाले छुट्टै मतपेटिका ल्याउने भन्ने हल्लामा विश्वास नगर्न आग्रह गरे ।