प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टो कार्लोसबीच आज भेटघाट भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उहाँहरुबीच भेट भएको हो ।
विश्वविजेता कार्लोस नेपाल सुरपल लिग (एनएसएल)को तेस्रो सिजनको खेल हेर्न काठमाडौं आएका हुन् । प्रधानमन्त्री ओलीले खेलाडी कार्लोसलाई स्वागत गर्दै उनको नेपाल आगमनले यहाँका खेलाडी र युवाहरुलाई उत्साह मिल्ने बताए ।
प्रधानमन्त्री ओलीले नेपाल र ब्राजिलबीच राम्रो कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै दुवै देशको खेल क्षेत्रले एकअर्कामा सिकाइ आदानप्रदान गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले खेलाडी कार्लोसलाई माउन्टेन फ्ल्याइट र जंगल सफारी गर्ने योजनासहित पुनः नेपाल भ्रमणमा आउन आग्रह गरे ।
आफूलाई स्वागत गरिएकामा आभार व्यक्त गर्दै खेलाडी कार्लोसले नेपालका प्रधानमन्त्री, युवा र खेलाडीसँग भेट्न पाउँदा खुसी लागेको बताए ।
ब्राजिलले सन् २००२ मा पछिल्लो पटक विश्व कप जित्दा कार्लोस टोलीका सदस्य थिए ।