जम्मु कश्मीरमा २६ पर्यटकको हत्या

Yangle News
Yangle News
२०८२ बैशाख ९ गते
जम्मु कश्मीरमा २६ पर्यटकको हत्या

भारत प्रशासित जम्मु कश्मीरमा आतंककारी आक्रमण भएको छ । अनन्तनाग जिल्लाको पहलगाम क्षेत्रमा पर्यटकलाई लक्षित गरी आक्रमण भएको हो ।

मंगलबार भएको आक्रमणका क्रममा हालसम्म २६ जना पर्यटकको ज्यान गएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । आक्रमणबाट अन्य दर्जनौं जना घाइते भएका छन् । यद्यपि मारिनेको संख्या अझ धेरै रहेको हुनसक्ने आशंका गरिएको छ ।

समाचारमा जनाइएअनुसार आतंककारीहरूले पर्यटकलाई नाम सोधे र त्यसपछि टाउकोमा गोली हानेका हुन् । त्यसपछि उनीहरु त्यहाँबाट भागेका थिए ।

घाइतेलाई स्थानीय अस्पताल लगिएको छ । जम्मु कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले मृतकको संख्याबारे स्पष्ट नभइसकेको उल्लेख गरेका छन् । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै मुख्यमन्त्री अब्दुल्लाहले यस घटनालाई सर्वसाधारणलाई लक्षित गरी भएका पछिल्ला केही वर्षयताकै सबैभन्दा ठूलो आक्रमणको संज्ञा दिएका छन् ।

पहलगाम क्षेत्र बैसरण उपत्यकामा पर्दछ । यो पर्यटकका लागि निकै आकर्षक गन्तव्य मानिन्छ । जुन पैदल वा घोडाबाट मात्र पुग्न सकिने घाँसे मैदान हो । अहिलेको समय सो क्षेत्रमा पर्यटक आगमनको उच्च सिजन हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रमणमा संलग्नलाई नछोडिने दृढता व्यक्त गरेका छन् । हाल साउदी अरबको भ्रमणमा रहेका प्रधानमन्त्री मोदीले गृहमन्त्री अमित शाहसँग वार्ता गरेको जनाइएको छ ।

आक्रमणको जिम्मा प्रतिवन्धित समूह लश्कर ए तोएवा आवद्ध ‘कश्मीर रेजिस्टेन्स फ्रन्ट’ (टीआरएफ) नामक समूहले लिएको बताइएको छ । यसअघि यो समूह खासै चर्चामा आएको थिएन । आफ्नो क्षेत्रमा ८५ हजारभन्दा धेरै ‘बाहिरियाहरु’ आएर बसोबास गरेसँगै ‘जनसांख्यिक परिवर्तन’ आएको उक्त समूहले आरोप लगाएको छ । हालै जम्मु कश्मीर सरकारले पछिल्ला दुई वर्षमा भारतका विभिन्न स्थानबाट आएका ८४ हजार जनालाई सो क्षेत्रमा बसोबासको अनुमति दिएको थियो ।

यसैबीच, गृहमन्त्री अमित साह जम्मु कश्मीरको राजधानी श्रीनगर पुगेका छन् । उक्त क्षेत्रको सुरक्षा व्यवस्थाबारे स्थलगत जानकारी लिन उनी श्रीनगर पुगेका हुन् । उनले मुख्यमन्त्री अब्दुल्लाह र राज्यका सुरक्षा प्रमुखहरुसँग छलफल गरेका छन् ।

घटनापछि स्थानीय संघ-संगठनले विरोधमा प्रदर्शन गरेका छन् । सुरक्षाफौजले आतंककारीविरुद्ध अभियान सुरु गरेको जनाएको छ ।