थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउनका लागि स्थानीय प्रशासनले प्रक्रिया अघि बढाएको छ । बिहीबार साँझ नेपाल प्रहरी, सशस्त्र प्रहरी र काठमाडौं महानगरपालिकाको नगर प्रहरीले सो क्षेत्रमा पुगेर माइकिङ गर्दै वैशाख १२ गतेभित्र बस्ती खाली गर्न निर्देशन दिएका हुन् ।
प्रशासनले वैशाख १२ गते बस्ती खाली बिहान ६ बजेदेखि गराउने कार्य सुरु हुने भन्दै त्यसअघि नै आ-आफ्नो सरसामान हटाउन सुकुम्बासीहरूलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पहिलो चरणमा काठमाडौंका तीनवटा स्थानमा रहेका सुकुम्बासी बस्तीका टहराहरू भत्काउने निर्णय गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले यो कदम चाल्ने निर्णय गरेको हो ।
सुरक्षा समितिको बैठक सकिएलगत्तै प्रजिअ पौडेलले काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँसँग यसबारे विस्तृत छलफल गरेका थिए । सोही छलफल र सुरक्षा समितिको योजनाअनुसार पहिलो चरणमा तीन ठाउँका सुकुम्बासी बस्ती हटाउन लागिएको हो । तोकिएको समयभित्र बस्ती खाली नगरिए बल प्रयोग गरेर भए पनि संरचना हटाइने संकेत सुरक्षा निकायले दिएको छ ।