सर्वोच्चको फैसला स्वीकार्ने कांग्रेस इतरपक्षको निर्णय

Yangle News
Yangle News
२०८३ बैशाख ५ गते
सर्वोच्चको फैसला स्वीकार्ने कांग्रेस इतरपक्षको निर्णय

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका नेताहरुले सर्वोच्च अदालतको फैसला स्वीकार गरेर अघि बढ्ने निर्णयमा पुगेका छन् । सर्वोच्च अदालतले पार्टीको आधिकारिकता विवादमा सभापति गगन थापा नेतृत्वलाई वैधानिकता दिएपछि पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का निवासमा देउवा पक्षका नेताहरुले छलफल गरेका थिए ।

छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता मीनबहादुर विश्वकर्माले असहमति भए पनि सर्वोच्चको फैसला मानेर अघि बढ्ने निष्कर्ष निकालेको जानकारी दिए ।

सर्वोच्चको फैसलापछि आफूहरूले थापालाई पार्टी सभापति मानेको उनले उल्लेख गरे । उनले हिजोदेखि पूर्णबहादुर खड्का निवर्तमान कार्यवाहक सभापति भइसकेकाले अब पार्टीलाई एकताबद्ध बनाएर लैजाने जिम्मा सभापति गगन थापाको भएको बताए ।

‘अब पार्टीलाई कसरी लैजाने भन्ने हिजो शेरबहादुर देउवाको खुट्टामा गोल थियो भने अब सर्वोच्च अदालतले अहिलेका विशेष महाधिवेशनबाट आएका सभापति गगन थापाको खुट्टामा अदालतले गोल फाल्दिएको छ,’ उनले भने, त्यसैले उहाँले अब कसरी पार्टीलाई एकताबद्ध बनाउनुहुन्छ, कसरी पार्टीलाई ठूलो बनाउनुहुन्छ, कसरी पार्टीलाई भावनात्मक रूपले सबै एक स्वरले नेपाली कांग्रेसका पक्षमा आबद्ध हुने वातावरण बनाउनुहुन्छ, मलाई लाग्छ अब पार्टी सभापति गगन थापाको खुट्टामा छ ।’