विद्यालय बन्द गरेर अनिवार्य आन्दोलनमा आउन शिक्षकलाई उर्दी

Yangle News
Yangle News
२०८१ चैत्र २४ गते
विद्यालय बन्द गरेर अनिवार्य आन्दोलनमा आउन शिक्षकलाई उर्दी

नेपाल शिक्षक महासंघले चैत २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गर्दै आन्दोलनलाई ‘अन्तिम र निर्णायक चरण’ मा प्रवेश गराएको छ ।

सरकारले वार्ताका लागि गरेको आह्वान अस्वीकार गरेको महासंघले आन्दोलनलाई थप सशक्त बनाउन भन्दै सोमबारबाट हड्तालको घोषणा गरेको हो । महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले विज्ञप्ति जारी गर्दै सबै शिक्षकलाई अनिवार्य आन्दोलनमा भाग लिन उर्दी जारी गरेका छन् ।

नयाँ शैक्षिक सत्रको शुरुवात अघि गर्नु पर्ने नतिजा प्रकाशन र आगामी शैक्षिक सत्रको व्यवस्थापनको काम यतिखेर विद्यालयहरुको मुख्य काम हो । कक्षा १० को अन्तिम परीक्षा एसईईको कापी परीक्षणमा पनि शिक्षकहरु संलग्न हुने समय यही हो । तर यही बेलामा महासंघले हड्तालको आह्वान गरेको छ ।

सडक केन्द्रित आन्दोलन शुरु गरेको पाँचौं दिनसम्म पनि सरकारसँग वार्ता र छलफलको  भएको छैन । आज महासंघले सिठ्ठी जुलुस निकाल्ने जनाएको छ ।

एसईईको नतिजा प्रकाशन प्रभावित

शिक्षकको जारी आन्दोलनले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनमा ढिलाइ हुने भएको छ । नेपाल शिक्षक महासंघको निर्देशनअनुसार उत्तरपुस्तिका परीक्षणमा शिक्षक सहभागी नहुनाले नतिजा समयमा आउन नसक्ने भएको हो ।

नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ परीक्षार्थी सहभागी भएको एसईईको उत्तरपुस्तिका परीक्षण यही साता शुरू हुने तयारी थियो । तर शिक्षकहरूले माग पुरा नभएसम्म परीक्षण नगर्ने अडान लिएपछि परीक्षा नियन्त्रक कार्यालयले निर्धारित तालिका अनुसार नतिजा प्रकाशन गर्न सक्ने अवस्था नरहेको जनाएको छ ।

महासंघले शिक्षकहरूलाई उत्तरपुस्तिका परीक्षण, तालिम, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि कार्यमा संलग्न नहुन निर्देशन दिएको छ । चैत ७ गतेदेखि सञ्चालन भएको एसईई परीक्षाको परिणाम ढिलाइ हुनाले शैक्षिक सत्रको सुरूवात, विद्यार्थी भर्ना र अगामी तयारीहरूमा समेत असर पर्ने देखिएको छ । यसैबीच, आन्दोलनका कारण कतिपय विद्यालयमा वार्षिक परीक्षा तथा नतिजा प्रकाशन पनि प्रभावित भएको छ ।

विज्ञप्ति:

Yangle News