विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ बर्खास्त

Yangle News
Yangle News
२०८१ चैत्र ११ गते
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ बर्खास्त

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गरेको एक मन्त्रीले बताए । घिसिङलाई २०७८ साउन २५ गतेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो । उनी दोस्रो कार्यकालका लागि प्राधिकरणमा नियुक्त भएका थिए ।

चार वर्षीय उनको कार्यकाल आगामी साउन २४ गते सकिँदै थियो । तर, समयावधि नसकिँदै सरकारले उनलाई हटाएको हो । डेडिकेटेड र ट्रंक लाइनको वक्यौता असुल गर्ने विषयमा कार्यकारी निर्देशक घिसिङ र उर्जामन्त्री दिपक खड्काबीच विवाद हुँदै आएको छ ।

घिसिङको कामकारबाहीप्रति चित्त नबुझेको भन्दै सरकारले पटक-पटक स्पष्टीकरण सोधेको थियो । पाँचौंपटक घिसिङले केही दिनअघि मात्रै स्पष्टीकरण दिएका थिए ।

यसअघि प्राधिरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विद्युत् महसुल नतिरेको भन्दै उद्योगीहरूको लाइन काटेको थियो । तर, एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार बनेपछि उद्योगीहरूको लाइन जोड्ने निर्णय गरेको थियो ।

यसैबीच, सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव शाक्यलाई नियुक्त गरेको छ । आजैको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।