अमेरिकी सिक्रेट सर्भिसका निर्देशक किम्बर्ली ए चिटलले राजीनामा दिएकी छन् । चुनावी र्याली गरिरहेका बेला पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयासको घटनापछि निर्देशक चिटललाई राजीनामाको दबाब आएको थियो । ट्रम्पको कानमा गोली लागेर जोगिएका थिए । तर उनको सुरक्षा गर्ने काममा असफल भएको भन्दै रिपब्लिकन सांसदहरूले चिटलको राजीनामा माग गरेका थिए । चिटलले मंगलबार सिक्रेट सर्भिसका कर्मचारीलाई पठाएको इमेलमा आफू सुरक्षाको मिसनमा असफल भएको उल्लेख गरेकी छन् ।
राष्ट्रका प्रमुख नेताहरूको सुरक्षा गर्नु सिक्रेट सर्भिसको कर्तव्यमध्ये एक भएको तर जुलाई १३ को र्याली सुरक्षित बनाउन नसकेको उनले बताएकी छन् ।
यसैबीच, राष्ट्रपति जो बाइडेनले चिटललाई यो पदको जिम्मेवारी सम्हालेकोमा धन्यवाद दिँदै चाँडै नयाँ निर्देशक नियुक्त गर्ने बताएका छन् । जुलाइ १३ मा राष्ट्रपति दौडमा रहेका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको थियो । साँझ साढे ६ बजे पेन्सिलभेनियाको बट्लरमा चुनावी र्यालीको क्रममा ट्रम्पलाई २० वर्षीय थोमस म्याथ्यु क्रुकले गोली प्रहार गरेका थिए ।
द न्यूयोर्क टाइम्सका अनुसार ट्रम्पले चुनावी सभालाई सम्बोधन गरिरहेको स्थलबाट ४ सय फिट उत्तरतर्फ रहेको सानो भवनको छतबाट क्रुकले गोली चलाएका थिए । गोली लाग्नेबित्तिकै ट्रम्प दाहिने कान समात्दै बाँकी गोलीबाट बच्न पोडियम पछाडि घुँडा टेकेर बसेका थिए ।
सुरक्षाकर्मीले जबाफी गोली चलाउदा क्रुकको घटनास्थलमै मृत्यु भएको थियो । गोली लागेर र्यालीमा सहभागी अर्का एक जनाको पनि मृत्यु भएको थियो ।