हङकङमा आगलागीमा परेर मर्नेको संख्या ६५ पुगेको छ । बिहीबार सार्वजनिक आवास अपार्टमेन्टहरूमा लागेको आगलागीमा परेर मर्नेको संख्या ६५ पुगेको सहरको अग्नि विभागले जानकारी दिएको हो ।
ती भवनहरूमा अझै केही मानिस फसेको बताइएको छ । ३०० भन्दा बढी मानिसको अवस्था अज्ञात रहेको बताइएको छ । आगो निभाउने क्रममा एक जना अग्नि नियन्त्रकको समेत मृत्यु भएको जनाइएको छ ।
आगलागी सुरु भएको झन्डै २४ घण्टा भइसक्दा पनि आगो पूरै निभाउन नसकिएको सञ्चारमाध्यामहरुले जनाएका छन् । प्रभावित बासिन्दालाई हङकङबासीहरूले खाद्यान्न र लत्ताकपडा लगायतका सामान सहयोग गरिरहेका छन् । अलिबाबा, एन्टालगायत कयौं चर्चित चिनियाँ कम्पनीले पनि ठुलो रकम दानको घोषणा गरेका छन् ।
आगो लाग्दा वाङ्फुक कोर्टमा कति मानिस थिए भन्ने अझै अस्पष्ट छ । सन् २०२१ को जनगणनाअनुसार ती बहुतले भवनहरूमा १ हजार ९ सय ८४ वटा अपार्टमन्ट थिए । तिनमा ४ हजार ६ सय मानिस बस्थे ।