आइएमई ग्रुपको लगानीमा नेपालमै पहिलो फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा

Yangle News
Yangle News
२०८२ असार १२ गते
आइएमई ग्रुपको लगानीमा नेपालमै पहिलो फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा

आइएमई ग्रुपको डेढ अर्ब लगानीमा नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग, एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग आजदेखि सञ्चालनमा आएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उद्योगको उद्घाटन गर्दै सो उद्योगबाट उत्पादित फाइबर सिमेन्ट बोर्ड तथा त्यसबाट निर्माण हुने विविध उत्पादनहरूलाई औपचारिक रूपमा सार्वजनिक गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले स्वदेशमै गुणस्तरीय, वातावरणमैत्री र अत्याधुनिक प्रविधिमा आधारित उद्योगको स्थापना हुनु नेपालको औद्योगिक विकासतर्फको महत्त्वपूर्ण पाइला रहेको बताए । मन्त्री भण्डारीले यो उद्योगले केवल आयात प्रतिस्थापन मात्र होइन, निर्माण क्षेत्रलाई दिगो विकासको बाटोमा डोर्‍याउने भएकाले सरकारले उत्पादनमुखी लगानीलाई सधैं प्रोत्साहन दिने उल्लेख गरे ।

सो समारोहलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले स्वदेशी कच्चा पदार्थ र स्थानीय स्रोतको प्रयोग गरी निर्माण क्षेत्रमा योगदान पुर्‍याउने गरी नयाँ उद्योग स्थापना गरेको बताए । यसले देशभित्र रोजगारी सिर्जना गर्ने र नेपालमै उत्पादन हुने भएकाले आयात प्रतिस्थापन भई ठुलो मात्रामा विदेशी मुद्रा बाहिरिनबाट जोगिँदा आत्मनिर्भर अर्थतन्त्रतर्फको मार्ग प्रशस्त गर्ने पनि अध्यक्ष ढकालले उल्लेख गरे । स्वदेशी सीप, स्थानीय स्रोत र सम्भावनामार्फत नेपालभित्रै अन्तर्राष्ट्रिय स्तरका निर्माण सामग्रीको उत्पादन सम्भव भएको सन्देश यस उद्योगले दिएको पनि अध्यक्ष ढकालको भनाइ थियो ।

आइएमई ग्रुपअन्तर्गत करिब डेढ अर्ब रुपैयाँको लगानीमा स्थापना गरिएको यो उद्योग रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका-६ मा अवस्थित छ । यो उद्योगमा कच्चा पदार्थ मिसावटदेखि बोर्ड कटिङ, प्रेसिङ र ड्रइङसम्मका सम्पूर्ण प्रक्रिया पूर्ण रूपमा अटोमेटेड प्रविधिमा आधारित छन् । उद्योगले दैनिक ७५ हजार स्क्वायर फिट सिमेण्ट फाइवर बोर्ड उत्पादन गर्न सक्ने क्षमता राख्छ । यहाँ उत्पादित बोर्डहरू ४ फिट लम्बाइ, ८ फिट चौडाइ र ४ एमएमदेखि ३० एमएम मोटाइमा उपलब्ध छन् । यी बोर्डहरू लचकदार, अग्निप्रतिरोधी, घामपानीले असर नपर्ने, वातावरणमैत्री तथा अत्यन्तै टिकाउ छन् ।

फाइबर सिमेन्ट बोर्डको प्रयोग भवनको बाहिरी भाग, पाटीशन, फल्स सिलिङ, मोडुलर किचन, इको प्यानललगायत विभिन्न संरचनामा गरिन्छ । यहाँसम्म कि इँटा र प्लास्टरको विकल्पमा पूर्ण संरचना निर्माणसमेत गर्न सकिन्छ, जुन १०-१५ दिनमै तयार पार्न सकिने भएकाले यसको माग नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा समेत तीव्र रूपमा बढ्दो छ ।

प्राकृतिक प्रकोप जस्तै, भूकम्प, बाढी वा पहिरोका बेला आपत्कालीन संरचना निर्माणमा समेत यस उद्योगका उत्पादित बोर्डहरू छिटो, सस्तो र दिगो विकल्प बन्ने छन् । प्लास्टर वा रङको झन्झट नहुने भएकाले समय र लागतमा उल्लेखनीय बचत हुनेछ । यस उद्योगले स्थानीय रोजगार प्रवर्द्धनमा जोड दिएको छ । हाल करिब २०० जनाले प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी पाएका छन्, जसमा ९८ प्रतिशतभन्दा बढी स्थानीय जनशक्ति र ४० प्रतिशतभन्दा बढी महिला कामदार छन् ।

उनीहरूले प्रोसेसिङदेखि प्याकिङसम्मका सबै काममा संलग्न छन् । एभरेष्ट फाइबर सिमेन्ट बोर्ड प्रालिले वातावरणमैत्री, गुणस्तरीय र प्रतिस्पर्धी उत्पादनमार्फत निर्माण क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने लक्ष्य लिएको छ ।