अमेरिकी दूतावासलाई पत्र : उपसभामुख रानामाथि छानबिनको माग

Yangle News
Yangle News
२०८१ साउन ७ गते
अमेरिकी दूतावासलाई पत्र : उपसभामुख रानामाथि छानबिनको माग

 

उपसभामुख इन्दिरा रानाले पदको दुरुपयोग गरी पाँच जनालाई अमेरिका लैजान अमेरिकी दूतावासलाई पत्र लेखेको विषयमा संसद् बैठकमा प्रश्न उठेको छ । संयुक्त राष्ट्रसंघको कार्यक्रममा भाग लिन जान लागेकी उपसभामुखले महिला अधिकारको अभियानसँग कुनै साइनो नभएका चार पुरुष र एक महिलालाई आफूसँगै लग्न प्रक्रिया अघि बढाइएकी थिइन् । आफूसँगै पाँचजना यो कार्यक्रममा जान लागेको भन्दै उनले भिसाको अन्तर्वार्ता छिटो सारिदिन अमेरिकी दूतावासलाई उपभामुखको लेटरप्याडमा पत्र लेखेकी थिइन् ।

बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले उपसभामुखले पत्र लेखेको विषयमा संसदीय छानबिन गर्नुपर्ने बताए । उपसभामुख राना संसद् बाहिर बसेर छानबिनमा सहयोग गर्नुपर्ने उनको माग थियो । संसद्बाट कोही विदेश भ्रमणमा जानुपर्ने भए संसद् सचिवालयको आफ्नै प्रक्रिया हुनुपर्नेमा त्यसलाई मिचेर उपसभामुखले पत्र लेखेको खतिवडाको भनाइ थियो ।

माओवादीका सांसद माधव सापकोटाले संवैधानिक परिषद्मा सत्तापक्ष अल्पमतमा परेपछि उपसभामुख रानाले १ वर्षअघि लेखेको पत्र चर्चामा ल्याइएको दाबी गरे । उपसभामुखले लेखेको पत्रले राजनीतिक र नैतिक प्रश्न उठे पनि त्यो प्रश्नको नियतमाथि उनले आशंका व्यक्त गरेका छन् । रास्वपा सांसद सुमना श्रेष्ठले उपसभामुखले मानव तस्करी गरेको भनेर चरित्र हत्या गर्न खोजेको भन्दै आपत्ति जनाइन् । रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले संघीय संसद् सचिवालयलगायत अन्य उच्च पदासीन व्यक्तिलाई पहिले नै जानकारी रहेको विषयलाई अनर्गल प्रचार गरिएको भनेका छन् ।