लुम्बिनीमा पर्यटकका लागि अनलाइन टिकट प्रणाली संचालनमा ल्याइएको छ । लुम्बिनी विकास कोषले लुम्बिनी भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकका लागि अनलाइन टिकट प्रणाली संचालनमा ल्याएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री हितबहादुर तामाङले शनिबार लुम्बिनीमा अनलाइन टिकट प्रणालीको शुभारम्भ गरेका हुन् । अनलाइन टिकट प्रणाली लागू भएपछि पर्यटकले घण्टौंसम्म लाइन बसेर टिकट काट्नु पर्ने बाध्यताको अन्त्य भएको छ ।
कार्यक्रममा सम्बोधन गर्दै मन्त्री तामाङले अनलाइन टिकट प्रणाली संचालनमा पूर्णरुपमा पारदर्शिता हुने विश्वास व्यक्त गरे । अनलाइन टिकट प्रणाली संचालनमा आएपछि स्वदेशी तथा विदेशी पर्यटकलाई लुम्बिनीको भ्रमण गर्न अझ सहज वातावरण बनेको उनको दाबी थियो ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारकाल लामाले लुम्बिनी आउने पर्यटकलाई सहज वातावरण बनाउनका लागि अनलाइन टिकटको व्यवस्था गरिएको र लुम्बिनीको महत्व र पहिचानलाई अन्तर्राष्ट्रियकरण गर्न जरुरी भएको बताए । लामाले भैरहवामा निर्मित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई चलायमान बनाउन पनि जरुरी भएको बताए ।
लुम्बिनी आउने पर्यटकलाई मायादेवी मन्दिर परिसरमा प्रवेशका लागि कपिलवस्तु, रुपन्देही जिल्ला बाहेकका स्वदेशी विद्यार्थीलाई प्रतिव्यक्ति १० र नागरिकलाई २० रुपैयाँ शुल्क लाग्ने गर्छ ।
भारतीयलाई ४०, सार्क मुलुकका पर्यटकलाई ३ सय र तेस्रो मुलुकका पर्यटकलाई प्रतिव्यक्ति ६ सय रुपैयाँ शुल्क लिने गरिएको छ ।