माइक्रोसफ्टले एन्ड्रोइडका लागि ‘कोपाइलट’ एप लञ्च गरेको छ। कुनै प्रचारप्रसार नगरी माइक्रोसफ्टले ‘कोपाइलट’को एन्ड्रोइड भर्सन लञ्च गरेको हो ।
यो एप गुगल प्ले स्टोरमा उपलब्ध छ, जसमा बिङ मोबाइल एपको प्रयोगबिना माइक्रोसफ्टको एआई कोपाइलट एक्सेस गर्न सकिन्छ । एन्ड्रोइडमा ‘कोपाइलट’ लगभग एक हप्तादेखि उपलब्ध छ, तर एप्पल आइओएस संस्करण भने अझै उपलब्ध छैन ।
एन्ड्रोइडमा उपलब्ध माइक्रोसफ्टको ‘कोपाइलट’ लगभग च्याट जीपीटीसँग मिल्दो जुल्दो छ। यसमा च्याटबटसहित ड्याल-ई थ्रीमार्फत फोटो जेनेरेट गर्न सकिन्छ भने इमेल तथा डकुमेन्टका लागि टेक्स्ट ड्राफ्ट गर्न पनि सकिन्छ । यसमा ओपन एआइको पछिल्लो भर्सन जीपीटी- ४ पनि निःशुल्क चलाउन मिल्छ । जुन च्याटजीपीटीमार्फत चलाउँदा भने शुल्क तिर्नुपर्ने हुन्छ ।
माइक्रोसफ्टले बिङ च्याटलाई ‘कोपाइलट’को रुपमा रिब्राण्ड गरेको करिब १ महिनापछि यसको एन्ड्रोइड भर्सन लञ्च गरेको हो । माइक्रोसफ्टले यसै वर्षको सुरुवाततिर बिङ सर्च इञ्जिनमा नै एआई लञ्च गरेको थियो । जसमा सर्च रिजल्टमा नै च्याट जीपीटीको जस्तो इन्टरफेस देख्न सकिन्थ्यो ।
त्यसलाई कायमै राखेर माइक्रोसफ्टले बिङ च्याटको ब्रान्डिङलाई प्रतिस्थापन गर्दै कोपाइलटलाई एक छुट्टै ब्राण्डको रुपमा विकास गरेको छ । माइक्रोसफ्टले कोपाइलटलाई छुट्टै डोमेन कोपाइलट डट माइक्रोसफ्ट डट कममा उपलब्ध गराएको छ। जुन धेरै हदसम्म च्याट जीपीटी जस्तै छ ।