नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणलाई धरौटीमा छोड्न उच्च अदालत पाटनले आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाणसँग ३० लाख धरौटी लिई छाड्ने आदेश दिएको हो ।
उच्च अदालत पाटनले खाँणलाई थुनामा पठाउनुपर्ने भनी जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर गरी धरौटीमा छाड्न आदेश गरेको हो । उच्च अदालत पाटनका प्रवक्ता तिर्थराज भट्टराईले अदालतको फैसला सुनाउँदै न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश जारी गरेको जानकारी दिए ।
न्यायाधीश कोइरालाको इजलासले यसअघि नै जनक पाण्डेले व्यक्त गरेको रायलाई समर्थनको रायसँगै जिल्ला अदालतको आदेश बदर भएको भट्टराईले बताए । उच्च अदालतमा दुई न्यायाधीशहरूबीच राय बाझिएपछि तेस्रो न्यायाधीशको रायका लागि खाँणले दिएको निवेदन बिहीबार तेस्रो न्यायाधीश कोइरालाको इजलासमा पेश भएको थियो ।
खाण लगायतका २० जना प्रतिवादीहरुले थुनामुक्त भई मुद्दा लड्न पाउनुपर्ने भन्दै उच्च अदालत पाटनमा निवेदन दिएका थिए । मंसिर ५ गतेदेखि निरन्तर भएको सुनुवाइपछि अन्य प्रतिवादीहरुको हकमा केहीलाई थुनामै राख्ने र केहीसँग धरौटी लिई तथा केहीलाई साधारण तारेखमै छाड्ने आदेश हुँदा बालकृष्ण खाणको हकमा भने दुई न्यायाधीशको राय बाझिएको थियो ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासमा भएको सुनुवाइमा न्यायाधीश पाण्डेले खाणसँग ३० लाख धरौटी माग गरी थुनामुक्त गर्ने राय दिएका थिए । तर न्यायाधीश पाण्डेको रायमा अर्का न्यायाधीश प्रकाश खरेलले भने फरक राय दिई थुनामै राख्नुपर्ने आदेश गरेका थिए । न्यायाधीश खरेलले तत्काल प्राप्त प्रमाणबाट प्रतिवादी बालकृष्ण खाण अहिले नै निर्दोष रहेछन् भनी भन्न नसकिने भन्दै उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने राय दिएका थिए ।