सुनसरीको धरान उपमहानरपालिकामा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले एक समिति गठन गरेको छ । प्राधिकरणका प्रबन्धक इन्जिनियर नलविक्रम थापाको संयोजकत्वमा प्रबन्धक अनिल बस्नेत र वरिष्ठ अधिकृत विमल खनाल सदस्य रहेको समिति गठन गरिएको हो ।
यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले धरानमा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न प्राधिकरणलाई निर्देशन दिएका थिए ।
धरानबाट करिब ४० किलोमिटरको दूरीमा विराटनगर विमानस्थल रहेको अवस्थामा सो स्थानमा विमानस्थलको औचित्य नभएको भन्दै सामाजिक सञ्जालमा भने विरोध भइरहेको छ । सो दूरी सडक यातायातबाट करिब एक घण्टाको यात्रामा पुगिन्छ ।
हिजो मात्रै धरान उपमहानर पालिकाका मेयर हर्क साम्पाङ राईले मन्त्री किराँतीलाई धरानमा विमानस्थल निर्माणका लागि पहल गरिदिन आग्रह गर्दै पत्र लेखेका थिए ।