युनिलिभरले महिला फुटबल टिमलाई वार्षिक २५ लाख दिने

Yangle News
Yangle News
२०८० साउन २ गते
युनिलिभरले महिला फुटबल टिमलाई वार्षिक २५ लाख दिने

नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई युनिलिभर नेपालले प्रायोजन गरेको छ । अखिल नेपाल फुटबल संघ एन्फाले आज युनिलिभरसँग प्रायोजन सम्बन्धी सम्झौता गरेको हो ।

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुको उपस्थितिमा एन्फा अध्यक्ष पंकजबिक्रम नेम्वाङ र युनिलिभर नेपालमा म्यानेजिङ डिरेक्टर आमलाल मुखर्जीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार युनिलिभरले नेपाली महिला टिमलाई वर्षमा २५ लाख रुपैयाँ दिनेछ ।

युवा तथा खेलकुद मन्त्री लिम्बुले नेपाली महिला फुटबल खेलको विकासका लागि युनिलिभरको प्रायोजन महत्वपूर्ण भएको बताए । नेपाली महिला टोलीले देशको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन कडा मिहिनेत गरेको भन्दै मन्त्री लिम्बुले प्रशंसा गरे । नेपाली खेलाडीले सीमित स्रोत साधनको बाबजुद पनि राम्रो प्रदर्शन गरेको उनले बताए ।

राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले यस सम्झौताले महिला सशक्तिकरणमा सहयोग गर्ने र भविष्यमा फुटबल खेल्न चाहने महिला खेलाडीलाई हौसला दिने बताइन् ।

एन्फा अध्यक्ष नेम्वाङले सम्झौतालाई ऐतिहासिक भन्दै पुरुषसँगै महिला फुटबलको विकासमा पनि एन्फाले सक्दो काम गर्ने बताए । नेम्वाङले महिला फुटबलको विकासमा एन्फाले योजना बनाएर अघि बढेको र मिसन महिला विश्वकप अभियान २०२७ र २०३१ सुरु गरिसकेको बताए । ‘यो सम्झौताले नेपाली महिला फुटबलमा नयाँ अध्यायको सुरुवात भएको छ । नेपालको महिला विश्वकप खेल्ने लक्ष्यमा पनि यसले सहयोग गर्नेछ’ उनले भने ।

नेपाली महिला टिमले भर्खरै बंगलादेश विरुद्धको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिज जितेर स्वदेश फर्किएको छ र आगामी सेप्टेम्बर-अक्टोबरमा चीनमा हुने १९ औं एसियन गेम्सको तयारीमा छ ।

युनिलिभर नेपालका म्यानेजिङ डिरेक्टर आमलाल मुखर्जीले महिला विश्वकप खेल्ने नेपालको लक्ष्यमा यो सम्झौताले सहयोग पुग्ने बताए ।

248 views