अखण्ड भारतसम्बन्धी नक्साको वास्तविकता बुझेर सरकारलाई रिपोर्ट बुझाउन दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएको छ । परराष्ट्रमन्त्री एनपी साउदले आज प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रियसम्बन्ध समितिको बैठकमा यस्तो बताएका हुन ।
भारतीय पक्षसँग पनि छलफल गरी वास्तविकता पत्ता लगाएर दूतावासलाई प्रतिवेदन पठाउन निर्देशन दिइएको मन्त्री साउदको भनाइ थियो । भारतको नयाँ संसद् भवनभित्र राखेको अखण्ड भारत सम्बन्धी नक्सामा लुम्बिनी, कपिलवस्तुलगायतका नेपाली भूभाग पनि समेटिएको विषयमा भारत सरकारको आधिकारिक धारणा आएको पनि उनको भनाइ थियो ।
संवेदनशील विषयमा परराष्ट्रमन्त्रीले अभिव्यक्ति दिन ठिक नहुने भन्दै मन्त्री साउदले यसअघि आफूले उक्त विषयमा नबोलेको बताए । उनले नेपालको नक्सा र सीमाबारे सरकार स्पष्ट रहेको बताए ।
नेपालको नक्सा के हो भन्ने कुरा २०७७ असार ४ गते संविधानमा नै दोस्रो पटक संशोधन गरेर सर्वसहमतिमा नयाँ नक्सा समेटेर संविधानको अनुसूची ३ मा नेपालको निशान छाप अद्यावधिक गरिएको तथ्य सबैमा जानकारीमा छ, उनले भने, हामीले हमेसा विवाद बनाइराख्नु र नेपालको अफिसियल पोजिसन भएका मान्छेलाई रातदिन नक्साका बारेमा धारणा के हो भनेर सोधिराख्नु आवश्यक छैन ।
संविधान संशोधन गरेर संसद्ले पास गरेको छ । संविधानको अनुसूची ३ मा नेपालको निशान छाप अद्यावधिक गरिएकाले सरकार र जनताको प्रतिबद्धता स्पष्ट छ ।
मन्त्री साउदले ईपीजीको प्रतिवेदनमा के लेखिएको छ भन्नेबारे नेपाल सरकारलाई जानकारी नभएको बताए । ईपीजीको प्रतिवेदन नेपाल सरकारले अधिकारिक रुपमा बुझेर अध्ययन नगरेको उनले बताए ।