डाटा हराएपछि लोकसेवाद्वारा पुन: दरखास्त माग, शुल्क नलाग्ने

Yangle News
Yangle News
२०८० बैशाख २० गते
डाटा हराएपछि लोकसेवाद्वारा पुन: दरखास्त माग, शुल्क नलाग्ने

विभिन्न पदमा दरखास्त दिएका उम्मेदवारहरुको डाटा हराएपछि लोक सेवा आयोगले फेरि दरखास्त आह्वान गरेको छ । २०७९ मंसिर, पुस र माघ महिनामा प्रकाशित विज्ञापनहरुमा दरखास्त दिइसकेका उम्मेदवारहरुलाई पुनः दरखास्त दिन आयोगले आह्वान गरेको छ ।

सम्बन्धित उम्मेदवारहरुले जेठ १८ गतेभित्र पुनः दरखास्त पेश गरिसक्नुपर्ने र पुनः दरखास्त दिँदा शुल्क तिर्न नपर्ने लोक सेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिएका छन् ।

आयोगको अनलाइन दरखास्त प्रणालीबाट मेटिएका डाटाहरु रिकभरी हुने वा नहुने निश्चित नभएपछि आयोगले पुनः दरखास्त माग गरेको हो । डाटा रिकभरीको प्रयास भइरहे पनि सो प्रक्रिया कहिलेसम्म पूरा हुने र के कति डाटा रिकभरी हुने यकिन गर्न नसकिने आयोगले जनाएको छ । २०८० साल जेठ महिनादेखि सञ्चालन हुने गरी तोकिएका परीक्षा प्रभावित भएको आयोगको भनाइ छ ।

पुनः दरखास्त दिँदा पहिले जुन समूहको विज्ञापनमा आवेदन गरिएको हो सोही समूहको विज्ञापनमा मात्र आवेदन दिनुपर्ने छ । दरखास्त स्वीकृत भएको जानकारी सम्बन्धित उम्मेदवारहरुले एसएमएसबाट प्राप्त गर्नेछन् । दरखास्त स्वीकृत भएपछि नयाँ रोलनम्बरसहितको प्रवेशपत्र जारी हुने आयोगले जनाएको छ ।

Yangle News

345 views