एप्पलले बहुप्रतिक्षित मानिएको रियालिटी हेडसेट ‘एप्पल भिजन प्रो’ सार्वजनिक गरेको छ । एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले नयाँ हेडसेट वास्तविक संसार र भर्चुअल संसारको मिश्रण रहेको बताएका छन् । कम्पनीले आइफोनको नयाँ अपरेटिङ सिस्टमसँगै म्याकबुक एयरमा नयाँ अपडेटको समेत घोषणा गरेको छ ।
रियालिटी हेडसेटको मूल्य ३ हजार ४९९ अमेरिकी डलर (करिब ४ लाख ६१ हजार नेपाली रुपैयाँ) रहेको छ । दुई घण्टा ब्याट्री लाइन रहने यो हेडसेट अमेरिकामा अर्को वर्षसम्ममा ‘लन्च’ हुनेछ ।
एप्पलको यो हेडसेटको मूल्य बजारमा उपलब्ध अन्य भर्चुअल रियालिटी हेडसेटभन्दा महँगो हो । गत साता मेटाले ४९९ डलर (करिब ६५ हजार नेपाली रुपैयाँ) पर्ने ‘द क्वेस्ट हेडसेट’ घोषणा गरेको थियो ।
एप्पलको ‘भिजन प्रो हेडसेट’ बजारमा उपलब्ध अन्य हेडसेट भन्दा केहि फरक देखिन्छ । एप्पलको यो हेडसेट हेर्दा स्की गगल्स जस्तै देखिन्छ । यस हेडसेटको कामलाई बुझाउन एप्पलले ‘अगमेन्टेड रियालिटी’ टर्म प्रयोग गरेको छ । मिक्स्ड रियालिटी भनेर पनि चिनिएको अगमेन्टेड रियालिटीले स्क्रिनमार्फत ‘अगमेन्टेड रियालिटी’ले स्क्रिनमार्फत वास्तविक संसारसँग भर्चुअल संसारलाई संयोजन गर्ने बताइएको छ ।
यसमार्फत प्रयोगकर्ताले भर्चुअल संसारमा नै विभिन्न एपहरू चलाउन, चलचित्र हेर्न र कागजात लेख्न पनि सक्छन् । तर यस प्रविधिको बजार कस्तो र कत्रो छ भन्ने कुरा हाल भन्न सकिने कुनै आधार छैन ।