हिजो एकै दिन १ सय ७५ भन्दा बढी आरोही सर्वोच्च शिखर सगरमाथा पुगेका छन् । यसअघि सन् २०१९ को मे २३ मा एकैदिन सगरमाथा धेरै जनाले आरोहण गरेका थिए । त्यत्तिबेला ३ सय ५४ जनाले सगरमाथाको सफल आरोहण गरेका थिए ।
विश्व कीर्तिमानी कामीरिता शेर्पाले पनि बुधबारै २७ औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् । सोक्रममा उनले आफ्नो रेकर्ड समेत तोडे । यो सिजनमा सगरमाथासहित २८ हिमाल आरोहणका लागि ८० देशका १ हजार १ सय ७६ जनाले अनुमति लिएको पर्यटन विभागले जनाएको छ । जसमा ८ सय ९९ पुरुष र २ सय ७७ महिला छन् ।
विभागका अनुसार, वैशाख ३१ सम्म सगरमाथा आरोहणका लागि ४ सय ७८ जनाले अनुमति लिएका थिए । विभागले यस पटक आरोहण अनुमतिबाट ७६ करोड ५७ लाख सलामी दस्तुरबापत राजस्व संकलन गरिसकेको छ ।
यसैबिच ४ दिनयता सगरमाथा शिखरमा २ सय ५० जना पुगेका छन् । सो क्रममा ६ जनाले ज्यान गुमाएको पर्यटन विभागका निर्देशक युवराज खतिवडाले बताएका छन् । बुधवार मात्रै आरोहण सकेर फर्कने क्रममा संखुवासभा निवासी फुर्वा शेर्पाको निधन भएको छ ।