फेसबुकमार्फत चिनजान, अश्लील फोटो-भिडियो बनाएर घरजग्गा बार्गेनिङ

Yangle News
Yangle News
२०८२ जेष्ठ ८ गते
फेसबुकमार्फत चिनजान, अश्लील फोटो-भिडियो बनाएर घरजग्गा बार्गेनिङ

सरकारी कर्मचारीलाई ‘हनी ट्र्याप’मा पारेर ठगी गर्न खोज्ने दुई जना महिला पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कैलाली घर भई काठमाडौं बस्ने ३४ वर्षीया ममता तामाङ र भक्तपुर घर भई काठमाडौं बस्ने ३४ वर्षीया आँचल श्रेष्ठ रहेका छन् । ममता काठमाडौंको कालोपुलमा बस्दै आएकी थिइन् । आँचल काठमाडौंकै हाँडीगाउँमा बसोबास गर्थिन् ।

उनीहरूले ती सरकारी कर्मचारीलाई सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान बढाएको प्रहरीले जानकारी दिएको छ । फेसबुकमा जोडिएपछि रेस्टुरेन्टमा कफी खान बोलाई सम्बन्ध बढाएको प्रहरीको भनाइ छ । त्यसै क्रममा एक दिन खाना खाने बहानामा ती कर्मचारीलाई रेस्टुरेन्टमा बोलाएर, मदिरा सेवन गराई अचेत हुने अवस्थामा पुर्‍याएर अश्लील फोटो-भिडियो बनाएको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए ।

त्यही फोटो र भिडियोमार्फत ती महिलाहरूले सरकारी कर्मचारीसँग जग्गा र घरको बार्गेनिङ गरेको प्रहरी उपरीक्षक आचार्यको भनाइ छ । उनीहरूले घर वा जग्गा नदिए बलात्कार मुद्दामा फसाइदिने धम्की दिँदै आएका थिए । उनीहरूले दुई जनाको पुरुषको माध्यमबाट पैसाको पनि बार्गेनिङ गरेको प्रहरीको भनाइ छ ।

उनीहरूको साथबाट दुई वटा मोबाइल र ५ लाखको चेक बरामद गरिएको प्रहरी उपरीक्षक आचार्यले बताए । फेसबुक मेसेन्जरमा उक्त तस्बिर र भिडियोको स्क्रिनसर्ट पठाई काठमाडौंमा घर र चार आना जग्गा दिनुपर्ने नत्र यौनशोषणको मुद्दा लगाइदिने धम्की दिएका थिए । र, पाँच लाखको चेक काट्न लगाएका थिए ।

बुधबार (जेठ ७) बेलुका उनीहरूलाई काठमाडौंको हनुमानस्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूका साथबाट मोबाइल दुईथान र आँचल चौगुठीका नाममा काटिएको प्राइम कमर्सियल बैंकको पाँच लाख रुपैयाँको एउटा चेक बरामद गरिएको छ ।

आपराधिक लाभ (एक्सटर्सन)सम्बन्धी मुद्दामा थप अनुसन्धान र कारबाहीका निम्ति उनीहरूलाई जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको कार्यालयले जनाएको छ ।

68 views