किमाथांका नाका खोल्न सरकारसँग संखुवासभावासीको आग्रह

Yangle News
Yangle News
२०८० बैशाख १० गते
किमाथांका नाका खोल्न सरकारसँग संखुवासभावासीको आग्रह

नेपाल र उत्तरी छिमेकी चीन जोड्ने संखुवासभास्थित किमाथांका नाका तत्काल खोल्न संखुवासभाका प्रतिनिधिले सरकारसँग आग्रह गरेका छन् । परराष्ट्रमन्त्री एनपी साउदलाई जिल्लाका प्रतिनिधि सहितको टोलीले आज भेटेर ज्ञापनपत्र बुझाएको हो । पत्रमा कोभिड १९ का कारण बन्द रहेको नाका अहिलेसम्म नखुल्दा संखुवासभाको भोटखोला गाउँपालिकाका करिब ६ हजार स्थानीय र त्यस वरपरका अन्य गाउँपालिकाका स्थानीयको दैनिकी कष्टकर बनेको उल्लेख छ ।

जिल्लाको सदरमुकाम जोड्ने सडकमार्ग राम्रो नभएका कारण त्यहाँका स्थानीयलाई उपभोग्य वस्तु, खाद्यान्न समेत खरिदमा कठिनाई भएको उनीहरुको गुनाँसो छ । सदरमुकाम खाँदबारीबाट भोटखोला पुर्याइएको खाद्यान्न ज्यादै महंगो हुने गरेको छ ।

तीन वर्षभन्दा बढि समयदेखि बन्द यो नाका तत्काल सञ्चालनमा आए उत्तरी चीनका साथै भारतसँग समेत व्यापार र पारवहनमा सहज हुने र आयात प्रतिस्थापन गरि निर्यात प्रबर्द्धन गर्न माग गरिएको छ ।

जिल्लाका प्रतिनिधिसभा सदस्य तथा पूर्वराज्यमन्त्री दीपक खड्का, प्रदेशसभा सदस्य राजेन्द्र कार्की सहितको प्रतिनिधि मण्डलले किमाथांका नाकामा सहज पहुँचका लागि निर्माणाधिन कोशी-ल्हासा राजमार्ग निर्माणको कामलाई गुणस्तरीय र छिटो सम्पन्न गर्न पनि संखुवासभावासीले आग्रह गरेका छन् ।

ज्ञापनपत्र

Yangle News

Yangle News