सगरमाथा आरोहणको ७०औँ वर्षगाठ मनाइँदै

Yangle News
Yangle News
२०८० बैशाख ३ गते
सगरमाथा आरोहणको ७०औँ वर्षगाठ मनाइँदै

विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा मानिसले पहिलोपटक पाइला टेकेको ७० वर्ष पुगेको छ । दुई साहसी पर्वतारोही तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारी सन् १९५३ मे २९ तारिखमा सगरमाथाको शिखरमा पुगेका थिए । सोही आरोहणलाई स्मरण गर्दै सगरमाथा आरोहणको ७०औँ वर्षगाँठको सन्दर्भमा ‘प्लाटिनम जुब्ली’ मनाइने भएको छ । आगामी मे २९ तारिखमा नेपालमा भव्य कार्यक्रम गरी मनाइने नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले जनाएको छ ।

प्लाटिनम जुब्लीलाई भब्य रुपमा मनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ । समितिमा नेपाल पर्यटन बोर्ड, पर्वतारोहण सङ्घ, होटल सङ्घ नेपाल ( हान ) , ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)लगायत पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रमुख एवम् प्रतिनिधि सदस्य छन् ।

समितिले प्लाटिनम जुब्लीलाई भव्यरुपमा सम्पन्न गर्नका लागि पूर्वतयारीका काम अघि बढाएको छ । समितिको बैठकले प्लाटिनम जुब्लीको कार्यतालिका तय गरेको एनएमएका महासचिव मोहन लम्सालले जानकारी दिए ।

महासचिव लम्सालका अनुसार ‘एभरेष्ट समिट’ आयोजना गरी विश्वभरका सगरमाथा आरोहीलाई नेपाल सरकारकोतर्फबाट सम्मान गर्ने कार्यक्रम छ ।  मे २९ तारिखका दिन सोलुखुम्बुको खुम्जुङमा विशेष कार्यक्रम हुने एनएमएका पूर्वअध्यक्ष एवं प्रमुख सल्लाहकार आङछिरिङ शेर्पाले बताएका छन्  । सो कार्यक्रममा तेञ्जिन शेर्पाका छोरा जम्लिङ तेञ्जिङ शेर्पा र हिलारीका छोरा पिटर हिलारी सहभागी हुने कार्यक्रम छ ।

खुम्जुङको औपचारिक कार्यक्रम सकेर पर्वतारोहण सङ्घले काठमाडौँमा छुट्टै कार्यक्रम आयोजना गर्नेछ । आरोहीको सम्मानमा र्याली, सम्मान र रात्रिभोजलगायतका कार्यक्रम गरिने सङ्घले जनाएको छ ।

सर्वोच्च शिखर सगरमाथासहित ८ हजार मिटर अग्ला आठवटा हिमाल नेपालमा छन् । हालसम्म करिब सात हजार स्वदेशी तथा विदेशी पर्वतारोहीले सर्वोच्च शिखरको आरोहण पूरा गरिसकेका छन् । सगरमाथा चढ्ने होडबाजीका साथै आरोहीहरूले नयाँनयाँ कीर्तिमान समेत थप्दै आएका छन् । कामीरिता शेर्पाले २६ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान बनाएका छन् । उनी वसन्त ऋतुको यो सिजनमा पनि आफ्नै कीर्तिमान तोड्न सगरमाथा आरोहणमा निस्कएका छन् ।

पर्यटन विभागका अनुसार नेपाली तेञ्जिङ नोर्गे शेर्पा र न्यूजील्याण्डका सर एडमण्ड हिलारीले आरोहण शुरु गरेयता हालसम्म करिब सात हजार आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । सन् २०२१ र २०२२ को संख्या जोड्दा आठ हजार बढीले सगरमाथा आरोहण गरेका हुन् ।

सन् १९७५ मे १६ तारिखका दिन जापानी आरोही जुनको तावेईले सगरमाथा आरोहण गरेर पहिलो महिला सगरमाथा आरोहीको उपमा पाएकी थिइन । पासाङ ल्हामु शेर्पा सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला हुन् ।  तथ्याङक अनुसार हालसम्म तीनसय भन्दा बढी आरोहीले सगरमाथाको आरोहणका क्रममा ज्यान गुमाएका छन् ।

यो वर्ष सगरमाथा आरोहण उत्साहप्रद हुने अनुमान

सन् २०२३ को वसन्त ऋतुको आरोहण पनि उत्साहबर्द्धक हुने अनुमान गरिएको छ । पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइटेल यो वर्ष उल्लेख्य सङ्ख्यामा आरोही आउने विश्वास छ । सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङमा शेर्पाले पनि वसन्त ऋतुको सगरमाथा आरोहण राम्रो हुने सङ्के

त देखिएको बताए । शेर्पाको कम्पनीबाट मात्रै अहिले ८० भन्दा बढी आरोही सगरमाथा आरोहणको तयारीमा छन् । विभागको पर्वतारोहण शाखाका अनुसार वसन्त ऋतुको सगरमाथा आरोहणका लागि यस वर्षको यस सिजनमा मात्रै २० आरोही समूहका एक सय ९७ जनाले सगरमाथाआरोहण अनुमति लिएका छन् । यद्यपि, वसन्त ऋतुको सगरमाथा आरोहणको सँघारमा आधार शिविर माथितिर भएको हिम पहिरोको घटनाले आरोहणलाई प्रभावित तुल्याउने होकी भन्ने पर्वतारोहीमा चिन्ता थपिएको छ ।

चालु वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्न आवश्यक सामग्री पुर्याउने क्रममा आधार शिविरदेखि माथि क्याम्प–१ को बीचमा ‘आइसफल’ क्षेत्रको दाम भन्ने स्थानमा गत चैत २९ गते बिहान हिउँको ढिस्कोले पुरिएर दाछिरी शेर्पा, पेम्वा तेन्जिङ शेर्पा र लाक्पा रीता शेर्पा बेपत्ता भएका छन् । उनीहरुका खोजीकार्य जारी रहेको जनाइएको छ ।

उनका अनुसार जलवायु परिवर्तनले विश्वतापमान वृद्धि भएकाले हिमालमा ढिलोगरी हिउँ पर्ने भएकाले हिमाल आरोहणका सिजनमा पनि परिवर्तन भइरहेको छ । सन् २०७० देखि ८० सम्म सगरमाथा आरोहण शरद ऋतुमा उपयुक्त मानिन्थ्यो । पछिल्लो पटक वसन्त ऋतुमा सगरमाथा आरोहण सर्वाधिक हुने गरेको छ ।

शेर्पाको भनाइमा शरद ऋतुमा आठ हजार मिटर अग्ला हिमालमा तीव्र गतिमा हावा चल्ने भएकाले आरोहण कठिन हुन्छ । सगरमाथा, कन्चनजङ्गा, ल्होत्से र मकालु हिमाल आरोहण गर्न कठिन हुन्छ । चोयु, धौलागिरी, मनास्लु र अन्नपूर्ण हिमाल आरोहणका लागि दुवै सिजन आरोहणका लागि सहज हुन्छ । नेपालमा हाल पाँच हजार आठ सय मिटरभन्दा अग्ला चार सय तीन हिमाल आरोहणका लागि खुल्ला गरिएको छ ।

455 views