पर्यटन क्षेत्रको विकास र विस्तारका लागि पर्यटकीय तथ्याङ्कलाई एकीकृत गरी यसैका आधारमा नयाँ योजना र कार्यक्रम ल्याउनु पर्ने सरोकारवालाहरुले बताएका छन् । विश्व पर्यटन संगठन (युएनडब्लुयूटीओ), नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र पर्यटन बोर्डले आयोजना गरेको तीन दिने कार्यशालामा सहभागि विभिन्न देश तथा नियोगका प्रतिनिधिले इन्टिग्रेट डाटा सिस्टमलाई जोड दिएका छन् ।
काठमाडौँमा चैत्र १ गते सुरु “Better Data for Better Tourism in Asia and the Pacific” क्षेत्रीय कार्यशाला आज सम्पन्न भएको हो । कार्यशालामा नेपालसहित भारत, बगंलादेश, मलेशिया, माल्दिभ्स्, इन्डोनेसिया,इरान, फिलिपिन्स , कम्बोडिया, लाओस, कोरिया, थाइल्याण्ड, स्पेन, लगायत ११ देश तथा युएनडब्लुयूटीओका प्रतिनिधिहरु सहभागी थिए ।
पर्यटन क्षेत्रका विभिन्न आयामहरुमा छलफल गर्दै पर्यटन उद्योगलाई क्रियाशिल बनाउन विभिन्न कार्यक्रम गर्दै आएको युएनडब्लुयूटीओले क्षेत्रीय कार्यक्रम नेपालमा आयोजना गरेको हो ।
कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सुशिला श्रीपाली ठकुरीले पर्यटन क्षेत्रको संख्यात्मक तथा गुणात्मक विकासका लागि तथ्याङ्कको महत्वपूर्ण भूमिका रहने बताईन । कार्यशालामा भएका छलफल र निश्कर्षले एशिया तथा प्याशिफिक क्षेत्रको पर्यटनलाई नयाँ गति दिने विश्वास उनले व्यक्त गरिन ।
कार्यक्रममा संयुुक्त राष्ट्रसंघ अन्तर्गत युएनडब्लुयूटीओ एक्सटर्नल रिलेशन निर्देशक बेका जकेलीले कुनै पनि नीतिका लागि तथ्याङ्कको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै पर्यटन विकासको लागि यसको प्रयोग झनै आवश्यक रहेको बताए ।
तीन दिन चलेको गोष्ठिमा पर्यटनसंग सम्बन्धित विभिन्न सेसनमा एक दर्जन बढि कार्यपत्र प्रस्तुत गरिएको पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए ।