क्यान्सर बिरामीका लागि ‘हटलाइन’ मोबाइल नम्बर !

Yangle News
Yangle News
२०८२ असार १२ गते
क्यान्सर बिरामीका लागि ‘हटलाइन’ मोबाइल नम्बर !

 

चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बिरामीलाई लक्षित गरी ‘हटलाइन’ मोबाइल नम्बर सेवा सुरु गरेको छ । क्यान्सरको उपचारको प्रकृया लामो हुने भएकाले उपचारको बीचमा घर गएका बिरामीलाई हुनसक्ने समस्या समाधान गर्न हटलाइन सेवा सुरु गरिएको हो ।

क्यान्सर रोगको उपचार गराइरहेका बिरामी, पहिलो पटक पहिचान भएका र क्यान्सर निको भएर पुनः देखिएका बिरामी अस्पतालको पहुँच बाहिर रहेकाबेला सहजीकरण गर्न यो सेवा सञ्चाल गरिएको अस्पतालका अङ्कोलोजी विभागका प्रमुख मेडिकल अङ्कोलोजिष्ट डा. गुरुशरण साहले बताए ।

चौबिसै घण्टा खुला रहने ९८५५०८१५०१ नम्बर फोनमा बिरामी वा आफन्तले सम्पर्क गरेर सेवा लिनसक्ने उनले जानकारी दिए । उनले भने, ‘यो नम्बरमा अस्पतालसम्बन्धी गुनासो वा अन्य सेवाबारेमा भने जानकारी दिइने छैन, क्यान्सर उपचार चरणबद्ध रुपमा हुन्छ, केमो लगाएर वा सेकाइ गरेर घर गएको बिरामीलाई जटिलता आयो भने यो नम्बरमा सम्पर्क गरेर सेवा लिन सकिन्छ ।’

त्यसैगरी दूरदराजमा रहेका बिरामीको पहिलो पटक क्यान्सर पहिचान भएपछि प्रथम चरणमा कसरी उपचार सुरु गर्ने भन्ने कुराको सहजीकरण गर्न पनि यो सेवाले सहयोग गर्ने अस्पतालले जनाएको छ । बिरामीको रिपोर्ट मगाएर वा लक्षणका आधारमा तत्काल गर्नुपर्ने र दीर्घकालीन रुपमा गर्नुपर्ने उपचार तथा प्रक्रियाका बारेमा यसबाट सुझाव दिइने छ ।