क्रिकेट खेलाडीलाई सरकारले जनही तीन लाख रुपैयाँ पुरस्कार दिने

Yangle News
Yangle News
२०७९ चैत्र ३ गते
क्रिकेट खेलाडीलाई सरकारले जनही तीन लाख रुपैयाँ पुरस्कार दिने

नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडीलाई  सरकारले जनही तीन लाख रुपैयाँ पुरस्कार दिने भएको छ । शुक्रबार बिहान बालुवाटार बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहालले खेलाडी, प्रशिक्षकसहित क्यानका पदाधिकारीलाई बधाई दिनुका साथै जनही तीन लाख दिने घोषणा गरेका हुन् ।

एकदिवसीय विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल पुरुष राष्ट्रिय क्रिकेट टोलीमा सहभागि खेलाडीलाई सम्मान गर्दै प्रधानमन्त्री दाहालले नेपालको जितप्रति खुसी व्यक्त गरेका छन् । आगामी दिनमा समेत  प्रर्दशन थप राम्रो होस् भन्ने कामना गर्दै उनले त्यसका लागि  अग्रिम शुभकामना व्यक्त गरे । त्यस्तै, उनले कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लटलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषदलाई निर्देशन दिएका छन् ।

यसैबिच, राष्ट्रिय क्रिकेट टोलीका प्रत्येक खेलाडीलाई वाग्मती प्रदेश सरकारले जनही एक लाख रुपैयाँ दिने घोषणा गरेको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारको तर्फबाट पुरस्कृत गरिने घोषणा गरेका हुन् ।

यस्तै, आईसीसी  क्रिकेट विश्वकप–२ एकदिवसीय प्रतियोगितामा सहभागी मधेस प्रदेशका खेलाडी गुल्शन झा र आरिफ सेखलाई प्रदेश सरकारले पुरस्कारको घोषणा गरेको छ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली टोलीलाई बधाई ज्ञापन गर्दै मधेस प्रदेसका दुई खेलाडी झा र सेखलाई २/ २ लाख रुपैयाँ प्रदान गर्ने बताएका हुन ।

 

 

 

 

376 views