‘ओपनएआईले’ निर्माण गर्यो एआई लिखित टेक्स्ट पत्ता लगाउने ‘टुल’

Yangle News
Yangle News
२०७९ माघ १९ गते
‘ओपनएआईले’ निर्माण गर्यो एआई लिखित टेक्स्ट पत्ता लगाउने ‘टुल’

च्याटजीपीटी, ड्यालई जस्ता लोकप्रिय टुल निर्माता कम्पनी ओपन एआई ले नयाँ एआई टुल सार्वजनिक गरेको छ । ‘क्लासिफायर’ नामक यस टुलले कुनै पनि टेक्स्ट एआईले लेखेको हो वा हाेइन भन्ने कुरा पत्ता लगाउन सक्छ ।

च्याटजीपीटी सार्वजनिक गरेको करिब दुई महिनापछि कम्पनीले मंगलबार याे एआई टुल सार्वजनिक गरेको हो । यसमार्फत कुनै पनि लेखलाई एआई टुल प्रयोग गरी लेखिएको  हो नभन्ने कम्पनीको भनाइ छ । तर, यो पूर्ण रूपमा विश्वसनीय नभएको कम्पनीले सजग पनि गराएको छ।

‘ओपनएआइ’का अनुसन्धानकर्ताहरूले ‘सबै एआइ-लिखित पाठ भरपर्दो रूपमा पत्ता लगाउन असम्भव’ भए पनि ‘क्लासिफायर’ले एआइले लेखेको हो भन्ने केही संकेतहरू इंगित गर्न सक्ने बताएका छन्। शैक्षिक सामग्री तयार पार्न प्रयोग गरिएका र मानवको रुपमा राखिएका एआई च्याटबटहरू फेला पार्न यो धेरै उपयोगी हुने उनीहरुले बताएका छन्।

तर, यो ‘क्लासिफायर’ ‘पूर्ण रूपमा भरपर्दो नभएको’ र एआइ-लिखित अंग्रेजी टेक्स्टहरू २६ प्रतिशत मात्र सही रूपमा पहिचान गरेको अनुसन्धानकर्ताहरूले स्वीकार गरेका छन्। यस्तै, यसले ९ प्रतिशत मानव-लिखित टेक्स्टहरू एआइले लेखेको भनेर गलत रूपमा संकेत गरेको उनीहरुले बताएका छन्।

‘हाम्रो क्लासिफायरको विश्वसनीयता सामान्यतया इनपुट टेक्स्टको लम्बाइ बढ्दै जाँदा सुधार हुन्छ। हामीले पहिले जारी गरेका क्लासिफायरको तुलनामा यो नयाँ क्लासिफायर हालसालैका एआई प्रणालीहरूको टेक्स्टमा धेरै भरपर्दो छ,’ अनुसन्धानकर्ताहरूले भनेका छन्।

‘च्याटजीपीटी’ सार्वजनिक पहुँचका लागि खुला भएदेखि यसले परीक्षा वा मूल्याङ्कनमा ‘चिटिङ’ हुन सक्ने भन्दै विश्वभरका शैक्षिक संस्थाहरूले चिन्ता व्यक्त गरिरहेका छन्।

बेलायतका प्राध्यापकहरूलाई उनीहरूको पाठ्यक्रमहरूको मूल्यांकन गर्ने तरिकाको समीक्षा गर्न आग्रह गरिएको भने केही विश्वविद्यालयहरूले यो प्रविधिलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउनुका साथै विद्यार्थीहरूलाई एआइ प्रयोग गर्न रोक्नको लागि कलम र कागजबाट परीक्षा लिने विधिमा फर्केका छन्।

अस्ट्रेलियाको डिकिन युनिभर्सिटीकी एक लेक्चररले आफूले परीक्षण गरेका पाँचमध्ये एक ‘पेपर’ एआइको सहायतामा तयार पारिएको पाइएको बताइन्।

त्यसैले धेरै विज्ञान जर्नलहरूले पनि पेपरको लागि टेक्स्टमा ‘च्याटजीपीटी’को प्रयोग गर्न प्रतिबन्ध लगाएका छन्।

ओपनएआइले यो ‘क्लासिफायर टूल’मा धेरै सीमाहरू रहेको बताएको छ। जसमा एक हजार क्यारेक्टर भन्दा कम टेक्स्टको परीक्षणमा विश्वसनीय नहुनुका साथै केही मानव-लिखित टेक्स्टलाई एआइ-लिखितको रूपमा गलत पहिचान गरिएको  बताएका छन्। यो केवल अंग्रेजी टेक्स्टको लागि मात्रै प्रयोग गरिनु पर्ने अनुसन्धानकर्ताहरूले भनाइ छ। अन्य भाषाहरूमा यसले ‘उल्लेखनीय रूपमा खराब’ परीक्षण गरेको र कोड जाँच गर्नमा पूर्ण रुपमा असमर्थ रहेको उनीहरुले बताएका छन्।

‘यसलाई अन्तिम निर्णयकै लागि भने प्रयोग गर्न मिल्दैन। तर टेक्स्टको स्रोत निर्धारण गर्ने अन्य विधिहरूको पूरकको रूपमा भने प्रयोग गर्न सकिन्छ,’ ओपनएआईले भनेको छ।

‘ओपनएआइ’ले शैक्षिक संस्थाहरूलाई कक्षा कोठामा ‘च्याटजीपीटी’को प्रयोगको आफ्ना अनुभवहरू सेयर गर्न आह्वान समेत गरेको छ।

अधिकांशले एआईलाई प्रतिबन्ध लगाइरहँदा केहीले भने एआईलाई नै आत्मसाथ गरेर अघि बढ्ने निर्णय गरेका छन्। गत महिना दक्षिण अस्ट्रेलियाका तीन मुख्य विश्वविद्यालयहरूले स्रोत खुलाएर ‘च्याटजीपीटी’ जस्ता एआइको प्रयोग गर्न अनुमति दिने गरी आफ्ना नीतिहरू अद्यावधिक गरेका थिए।