ट्विटरले २४ घण्टाको अनलाइन लिलामीमार्फत आफ्नो कार्यालयका सयौं सामानहरु बिक्री गरेको छ । हेरिटेज ग्लोबल पार्टनर्सद्वारा बुधबार आयोजित लिलामीमा ट्विटरको प्रतिष्ठित ‘ब्लू बर्ड लोगो’ पनि समावेश रहेको थियो । यसका साथै, अत्याधुनिक किचन उपकरण, छपाई तथा मुद्रण सामाग्री, आइस डिस्पेन्सर, एस्प्रेसो कफी मेसिन, केएन–९५ मास्कलगायत अफिसका अतिरिक्त सामानहरु पनि लिलामी गरिएको थियो ।
बीबीसीका अनुसार ट्विटरको ‘ब्लू बर्ड लोगो’ को मूर्ति सबैभन्दा महँगो दाममा बिक्री भएको छ । उक्त मूर्ति १ लाख डलरमा बिकेको बीबीसीले उल्लेख गरेको छ । लिलामीमा दोस्रो सबैभन्दा महँगो वस्तु १० फिट लामो ‘नियोन ट्विटर बर्ड डिस्प्ले’ रहेको थियो । जुन ४० हजार डलरमा बेचिएको थियो । ट्विटरले कार्यालय खर्च धान्न नसकेर सामानहरु लिलामी गरेको कतिपयले बताएका छन् । यद्दपि, लिलामीकर्ता हेरिटेज ग्लोबलले भने यस लिलामीको ट्विटरको आर्थिक स्थितिसँग कुनै सम्बन्ध नरहेको प्रष्ट पारेको छ ।
यता, अर्बपति मस्कले ४४ अर्ब डलरमा ट्विटर खरिद गरेदेखि नै खर्च कटौतीमा जोड दिँदै आएका छन् । यसअवधिमा मस्कले ७ हजार ५०० जना भन्दा बढी कर्मचारी कटौती गरिसकेका छन् भने कर्मचारीलाई दिइँदै आएकोे निःशुल्क खानाको सुविधा पनि हटाएका छन् । यता, केही दिन अघि मात्रै ब्लुमबर्गले ट्विटरले अफिस स्पेसको लागि भाडा तिर्न संघर्ष गरिरहेको रिपोर्ट गरेको थियो । अमेरिकाको सानफ्रान्सिस्को कार्यालयको भाडाका लागि घरधनीले ट्विटरमाथि मुद्दासमेत दर्ता गरेका थिए । जसका कारण धेरैले यो लिलामीलाई पनि ट्विटरको डरलाग्दो आर्थिक संकट पूर्ति गर्न मस्कले उठाएको अर्को कदमका रुपमा लिएका छन् ।बीबीसी