बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलास पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश बदर गरिदिएको हो।
उनलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए। उनका अनुसार लामिछानेलाई विदेश जान रोक लगाइएको छ।
लामिछानेले गत भदौ ५ गते राति नाबालिकालाई गौशालास्थित एक होटलमा पुर्याएर जबर्जस्ती करणी गरेको भन्दै एक १७ वर्षीय किशोरीले प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन्। प्रहरीको अनुसन्धानपछि गत कात्तिक १४ गते १० देखि १२ वर्ष कैद सजाय, जरिवाना र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने माग सहित उनी विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।
जाहेरीपछि लामिछाने सम्पर्कविहीन भएका थिए। प्रहरीले पक्राउ पुर्जी जारी गरी उनलाई पक्राउ गर्नको लागि इन्टरपोलसँग आग्रह गरेको थियो।
जाहेरी परेको करिब एक महिनापछि असोज २० गते सन्दीप नेपाल फर्किएका थिए। प्रहरीले उनलाई त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको थियो।