कोभिडको संक्रमण कम हुँदै गएपछि नेपालमा विदेशी पर्यटकको संख्या बढ्न थालेको छ । सन् २०२२ मा ६ लाखभन्दा बढी विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन् । यो कोभिड शुरु हुनु अगाडिको वर्ष अर्थात सन् २०१९को भन्दा झन्डै आधा हो । सन् २०१९ मा नेपालमा १२ लाख पर्यटकले हवाई मार्ग भएर नेपाल भित्रिएका थिए ।
अध्यागमन विभागको तथ्यांक अनुसार सन् २०२२ मा नेपालमा ६ लाख १४ हजार १ सय ४८ पर्यटक नेपाल भ्रमणमा आएका छन् । महिनाको हिसाबले सबैभन्दा बढी अक्टोबरमा पर्यटक आएका छन् । सन् २०२२ को अक्टोबरमा ८८ हजार ५ सय ८२ जना पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२२ को जनवरीमा भने सबैभन्दा कम १६ हजार ९ सय ७५ जना मात्रै पर्यटक नेपाल भित्रिएका छन् ।
हालसम्म एउटा मात्रै अन्तर्राष्ट्रिय विमानस्थल रहेकोमा अहिले गौतम बुद्धको जन्मस्थान लुम्बिनी र एडभेन्चर टुरिज्मको गेटवे मानिने पोखरामा गरी थप दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल थपिएका छन् । करिब ७ महिना अघि गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएको थियो भने सन् २०२३ को जनवरीबाट भने पोखरा विमानस्थल समेत सञ्चालनमा आइससकेको छ । एउटै विमानस्थल हुँदा नै विगतमा १२ लाख भन्दा बढी पर्यटक भित्रिएको अवस्थामा गएको १ वर्षमा थप दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल थपिएको कारण यसले आगामी दिनमा पर्यटकको संख्या बढ्नेमा पर्यटनकर्मीहरु ढुक्क देखिन्छन् ।
नेपाल नागरिक उडड्यन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले नेपालमा आउने पर्यटकमध्ये ६० प्रतिशत पर्यटक पोखरा भ्रमणमा जाने गरेको हुँदा पोखरामा आगामी दिनमा पर्यटकको संख्या वृद्धि हुने पर्याप्त आधारहरु रहेको बताए ।
पर्यटन उद्यमी वसन्त मिश्र पनि पोखरामा विमानस्थल जस्ता पूर्वाधार बनेकाले आगामी दिनमा पर्यटक बढ्नेमा ढुक्का छन् । पोखराले भारतीय शहरहरु र चीनबाट पनि पर्याप्त तान्नेमा आफू आशावादी रहेको उनले बताए ।
सन् २०२२ मा सबैभन्दा बढी पर्यटक छिमेकी देश भारतबाट आएका छन् । भारतबाट मात्रै एक वर्षको अवधिमा २ लाख ९ हजार १ सय ५ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो कुल संख्याको झन्डै एक तिहाई हो । विगतमा पनि नेपालको कुल पर्यटक संख्यामा दुई ठूला छिमेकी देशहरु भारत र चीनको योगदान महत्वपूर्ण हुने गर्दथ्यो । कोभिड पछि चीन सरकारले आफ्ना नागरिकहरुलाई विदेश भ्रमणमा रोक लगाएकाले चीनबाट खासै पर्यटक नेपाल भित्रिएका छन् । चीनले पनि विस्तारै आफ्ना नीतिहरु खुकुलो बनाउँदै लगेको छ जुन नेपालको पर्यटनको लागि खुशीको विषय रहेको पर्यटन उद्यमीहरु बताउँछन् ।
सन् २०२२ को तथ्यांकको आधारमा सबैभन्दा बढी पर्यटक भित्रिने देशमा भारत पछि संयुक्त राज्य अमेरिका, बेलायत, अष्ट्रेलिया र बंगलादेश रहेका छन् । तथ्यांक अनुसार सन् २०२२ मा बेलायतबाट ७७ हजार ९ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् भने बेलायतबाट ४४ हजार ७ सय ८१ जना, अष्ट्रेलियाबाट २६ हजार ८ सय ७४ जना र बंगलादेशबाट २५ हजार ३ सय ८४ जना पर्यटक नेपाल भित्रिएका छन् ।
क्षेत्रगत हिसाबबाट सार्क क्षेत्रबाट सबैभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । सार्क क्षेत्रबाट ४०.०६ प्रतिशत पर्यटक नेपाल भित्रिएका छन् भने सार्क बाहेकका अन्य एसियाली मुलुकबाट ८.३ प्रतिशत पर्यटक नेपाल आएका छन् । युरोपबाट २१.७२ प्रतिशत नेपाल भित्रिएका छन् भने अमेरिकी महादेशबाट १४.१३ प्रतिशत ओसनियाली क्षेत्रबाट ४.६६ प्रतिशत, मध्यपूर्वी राष्ट्रबाट १.६२ प्रतिशत पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।