सहमति नजुटेपछि सत्ता गठबन्धन बैठकबाट बाहिरिए प्रचण्ड

Yangle News
Yangle News
२०७९ पुस १० गते
सहमति नजुटेपछि सत्ता गठबन्धन बैठकबाट बाहिरिए प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ सरकारको नेतृत्वका लागि नेपाली कांग्रेससँग सहमति नजुटेपछि सत्ता गठबन्धनको बैठकबाट बाहिरिएका छन्। आइतबार दिउँसो बालुवाटारमा बसेको गठबन्धन बैठकको छलफलपछि प्रचण्ड बाहिरिएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार बनाउन दिएको समयसीमा आइतवार साँझ ५ बजे सकिँदैछ। यो अवधिभित्र संविधानको धारा ७६ (२) अनुसार दुईभन्दा बढी दलले सरकार बनाउन बहुमत पेश गर्नुपर्नेछ।

राष्ट्रपतिले दिएको समयसीमा सकिन केही घण्टा बाँकी हुँदा सत्तारुढ दलहरु पद बाँडफाँटसहित सहमति प्रयासमा छन्।

प्रधानमन्त्री लिनै पर्ने अडानमा रहेको नेकपा माओवादी केन्द्रलाई कांग्रेसले उक्त पद र राष्ट्रपति छाड्न नसकिने बताएको छ।

स्रोतका अनुसार आइतबार पनि कांग्रेस सभापति शेरबहादुर देउवाले दुवै पद अरुलाई दिन नसक्ने अडान लिएका छन्। प्रचण्ड बाहिरिएपछि अहिले दोस्रो तहका नेता बालुवाटारमै संवादमा छन्।

सत्ता गठबन्धनमा पहिलो कार्यकाल कसले प्रधानमन्त्रीको नेतृत्व लिने भन्ने विवाद छ। माओवादीले कांग्रेस सभापति देउवाले आफ्नो समर्थनमा डेढ वर्ष सरकार चलाएकाले अब आफ्नो पालो भएको अडान राखेको छ।

उता देउवा पहिलो कार्यकाल आफैं चलाउने अडानमा यथावत छ। अर्कातिर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि अन्तिम एक वर्ष आफूले नेतृत्व गर्न पाउनुपर्ने मत राखेको छ।

कांग्रेससँग कुरो मिल्न नसकिरहेका बेला माओवादीका केही नेताहरु नेकपा एमालेसँग पनि छलफलमा छन्। उनीहरुले शनिबार राति एमाले नेतृत्वसँग छलफल गरेका थिए।