काठमाडौँ–तराई मधेस द्रुतमार्गलाई चाँडो सक्न अनुगमन र समन्वय समिति गठन

Yangle News
Yangle News
२०७९ पुस ८ गते
काठमाडौँ–तराई मधेस द्रुतमार्गलाई चाँडो सक्न अनुगमन र समन्वय समिति गठन

नेपाली सेनाले राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकता र चर्चामा रहेको काठमाडौँ–तराई मधेस द्रुतमार्गको काम चाँडो सक्न समन्वय तथा अनुगमनसम्बन्धी समिति गठन गरेको छ ।

‘आजको सुरुवात, भोलिको आधार : काठमाडौँ–तराई मधेस द्रुतमार्ग’ भन्ने नाराकासाथ नेपाली सेनाको व्यवस्थापनमा यो आयोजना अघि बढिरहेको छ । नेपाली सेनाका हालका प्रवक्ता नारायण सिल्वालको अध्यक्षतामा गठन भएको उक्त समयन्त्रलाई आयोजना अघि बढाउने सिलसिलामा देखिएका यावत समस्या र चुनौती समन्वय गरी सुल्झाउने कार्य जिम्मेवारी छ ।

अध्यक्ष सिल्वालले भने, “आयोजनाको अहिलेको निर्माणको गतिलाई बढाउँदै सङ्गठनको कार्यदेशअनुसार सम्पन्न गर्न अनुगमन र समन्वयनको कार्य समितिलाई प्राप्त छ । सो पूरा गर्नु हाम्रो मुख्य कार्य जिम्मेवारी हुनेछ ।”

आयोजनाका लागि २०४९ सालमा डेनिस सहयोग नियोगबाट सम्भाव्यता अध्ययन गरिएको थयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले बढी रहेको हवाई उडान र अवतरणको चाप थेग्न नसक्ने निक्र्योलका साथ राजधानीबाट छोटो दूरीमा रहने गरी अर्को वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल निजगढमा बनाउने तथा कम समयमा त्यहाँ आवतजावत गर्न सडक निर्माण गर्ने सोचसँग सम्बन्धित यो पूर्वाधार हो । सरकारले आर्थिक वर्ष २०६६÷६७ को बजेटमा दु्रतमार्गको पहुँचमार्ग खोल्ने निर्णयअनुसार तीन वर्ष लगाएर सेनाले त्यो काम २०७० सलमा पूरा गरेको थियो ।

त्यससँगै आयोजना निर्माणको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा राजनीतिक दलबीच लामो समयसम्म रस्साकस्सीपछि मुलुकको प्रमुख सुरक्षा अङ्गका रुपमा रहेको सेनाको व्यवस्थापनमा अघि बढाउने विषयमा सर्वसम्मति भएको थियो । यसअघि सेनाले नै २०६७ सालदेखि रु ९४ करोडको लागतमा तीन वर्ष लगाएर आयोजनाको द्रुतमार्गको पहुँच मार्ग खोलेको हो ।

एसियन हाई–वे स्ट्याण्डर्डको आयोजनालाई अर्जुनदृष्टि र दु्रतआधारमा अघि बढाइरहेको सेनाका प्रवक्ता सिल्वालले बताए । नेपालको सडक यातायातको क्षेत्रमा अत्याधुनिक र रुपान्तरणकारी आयोजनाका रुपमा द्रुतमार्ग स्थापित हुनेछ ।

काठमाडौँलाई तराई मधेस हुँदै छिमेकी मुलुक भारतसँग जोड्ने छोटो, फराकिलो र सुविधा सम्पन्न द्रुतमार्ग निर्माणपछि काठमाडौँबाट निजगढसम्मको यात्राअवधि पाँच घण्टाबाट घटेर एक घण्टामा सीमित रहने मात्र नभई इन्धन र समयसमेत बचत हुनेछ ।

454 views