काठमाडौं । आदिवासी जनजाति समुदायले आफ्नो सहमतीविना कुनै पनि परियोजना संचालन नगर्न चेतावनी दिएको छ ।
आदिवासी जनजाति आयोग, आदिवासी जनजाति उत्थान प्रतिष्ठान, नेपाल आदिवासी जनजाति महासंघलगायतका संघ, संस्थाहरुले बिहीबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी आदिवासी जनजाति समुदायको स्वतन्त्र, पूूर्व सुुचित सहमती (एफपिक) कार्यान्वयन राष्ट्रिय निर्देशिका सार्वजनिक गर्दै उक्त चेतावनी दिएका हुन् । आदिवासी जनजाति समुदायलाई पुर्याउने फाइदा र बेफाईदा बारे छलफल गरेर मात्रै कुनै पनि परियोजना र कार्यक्रम संचालन गर्न आफूहरुको अनुमति लिनुपर्ने निष्कर्षमा पुगिएको आयोगका अध्यक्ष रामबहादुर थापामगरले बताउनुभयो ।
उहाँले आदिवासी जनजाति क्षेत्रका विज्ञहरु आदिवासी जनजातिनै हुनुपर्ने भएकाले उनीहरुको सहमती विना कुनै पनि परियोजना संचालन गर्न उपयुक्त नहुने भएकाले परियोजना संचालन गर्नुुअघि सम्बन्धित संघ, संस्थाहरुको अनुमति लिन सबैलाई सचेत गराइएको उल्लेख गर्नुभयो । अध्यक्ष थापा मगरले सरकार संलग्न रहेको परियोजनामा समेत सरकार, लगानीकर्ता र स्थानीय समूदायबीच त्रिपक्षीय करार हुनुपर्ने स्पष्ट पार्नु भयो ।
आदिवासी जनजाति समुदायलाई असर पार्ने खालका कुनै पनि परियोजना वा क्रियाकलाप कुनै पनि बेला स्थगन गर्नुपर्ने समेत आदिवासी संघ, संस्थाको निष्कर्ष छ । संविधानमा व्यवस्था गरिएको आदिवासी जनसमुदायको अधिकार सुनिश्चित गर्न पनि आदिवासी जनजाति समुदायको स्वतन्त्र, पूूर्व सुुचित सहमती (एफपिक) कार्यान्वयन राष्ट्रिय निर्देशिका सार्वजनिक गर्नु परेको सम्बन्धित पक्षको दावी छ ।
उक्त निर्देशिका सम्बन्धित समूदाय र विज्ञहरुले दिएको सुुझावको आधारमा तयार पारिएको पनि आदिवासी जनजाति उत्थान प्रतिष्ठानले जनाएको छ ।