जनजीविकाका मुद्दा प्रभावकारी रूपमा उठाउन कांग्रेस नेता कार्यकर्तालाई प्रदीप पौडेलको आग्रह

Yangle News
Yangle News
२०८३ कार्तिक ३० गते
जनजीविकाका मुद्दा प्रभावकारी रूपमा उठाउन कांग्रेस नेता कार्यकर्तालाई प्रदीप पौडेलको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जनजीविकासँग जोडिएका मुद्दालाई प्रभावकारी रूपमा उठाउन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

नेपाली कांग्रेस गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा महामन्त्री पौडेलले सरकारले जनजीविकाका सवालमा गम्भीरता नदेखाएको र मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले नागरिकका दैनिक समस्यालाई कांग्रेसले प्राथमिकताका साथ उठाउनुपर्ने बताउनुभयो ।

निर्वाचन नजिकिँदै गर्दा सुशासन, संघीयताको सबलीकरण र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने विषयलाई पार्टीले मुख्य एजेन्डा बनाउनुपर्ने उहाँको भनाइ थियो ।

नागरिकसँग आत्मीय सम्बन्ध कायम गर्दै उनीहरूका समस्या र पीडालाई बुझ्न तथा देश विकासका योजनामा जिम्मेवार भएर अघि बढ्न उहाँले नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

कार्यक्रममा कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले भ्रष्टाचार नियन्त्रण र पार्टीले विगतमा गरेका ऐतिहासिक तथा महत्वपूर्ण कामको अभिलेखीकरणमा ध्यान दिनुपर्ने बताउनुभयो ।

सो अवसरमा कांग्रेसको १५औँ महाधिवेशनबाट गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा निर्वाचित नेताहरूलाई सम्मान गरिएको थियो ।