प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ। बुधबार दिउँसो अध्यक्ष ओली खुमलटारमा प्रचण्डलाई भेट्न पुगेका हुन्।
पाँचदलीय गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेपछि ओली पहिलोपटक प्रचण्डनिवास पुगेका छन् ।
एमाले अध्यक्ष ओलीसहितको समर्थनमा प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बनेका हुन्। प्रचण्ड प्रधानमन्त्री बने पनि धेरै महत्वपूर्ण पदको भागबण्डा बाँकी नै छ। बालकोटको बैठकमा राष्ट्रपति र सभामुख एमालेले पाउने सहमति भएको छ। प्रधानमन्त्री पाएको माओवादीले उपराष्ट्रपति र रास्वपाले उपसभामुख पाउने भएका छन्। यीसहित राष्ट्रियसभा उपाध्यक्ष र एक सदस्य, सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुख, सातै प्रदेशका सभामुख तथा उपसभामुखसहित सयभन्दा बढी पद छन्।
बुधबारै बिहान प्रचण्डले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेका थिए ।
नेताहरूबीच एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउनेबारे छलफल भइरहेको छ । ओली र नेपालको भेट गराउन दोस्रो तहका नेताहरू लागिपरेका छन् ।