नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट खेलाडीहरू (पुरुष र महिला दुवै)को नयाँ वर्गीकरण गरेको छ । क्यानले ३८ पुरुष र २५ महिला खेलाडीलाई विभिन्न श्रेणीमा वर्गीकरण गरेको हो ।
पुरुषतर्फ ‘ए प्लस’ श्रेणीमा कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने परेका छन् । ‘ए’ श्रेणीमा सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल र करण केसी छन् । ‘बी’ श्रेणीमा ललितनारायण राजवंशी, आरिफ शेख, भीम सार्की, नन्दन यादव र गुल्शन झा रहेका क्यानले जनाएको छ । यसैगरी, ‘सी’ श्रेणीमा सन्दीप जोरा, अर्जुन कुमाल, कुशल मल्ल, शेर मल्ल, इशान पाण्डे, बशिर अहमद, लोकेश बम, शाहब आलम, हेमन्त धामी, विनोद भण्डारी र अनिल साह छन् ।
डेभलपमेन्ट श्रेणीमा त्रितराज दास, राशिद खान, सन्तोष यादव, नारायण जोशी, विपिन खत्री, रिजन ढकाल, युवराज खत्री, देव खनाल, पवन सर्राफ, आकाश चन्द, दीपक डुम्रे, अर्जुन घर्ती, अर्जुन साउद, प्रतीस जिसी र सागर ढकाल परेका क्यानले जनाएको छ ।
यता, महिलातर्फ भने ‘ए’ श्रेणीमा इन्दु बर्मा, पूजा महतो, रुबिना क्षेत्री र सीता रानामगर समावेश छन् । ‘बी’ श्रेणीमा कविता कुँवर, सम्झना खड्का र मनीषा उपाध्याय रहेका छन् भने सी श्रेणीमा बिन्दु रावल, कविता जोशी, रुबी पोद्दार र रिया शर्मा परेका छन् ।
डेभलपमेन्ट श्रेणीमा रोमा थापा, सुमन बिष्ट, ईश्वरी विष्ट, सोनी पाख्रिन, सना प्रविण, सावित्री धामी, काजल श्रेष्ठ, सीमा केसी, अनु कडायत, यशोदा बिष्ट, लक्ष्मी साउद, ममता चौधरी, अश्मिना कर्माचार्य र रचनाकुमारी चौधरी रहेका छन् ।
क्यानका अनुसार पुरुष खेलाडीमध्ये ‘ए प्लस’ श्रेणीका खेलाडीले मासिक एक लाख २० हजार रूपैयाँ तलब पाउनेछन् । ‘ए’ श्रेणीले एक लाख, ‘बी’ श्रेणीले ७५ हजार, ‘सी’ श्रेणीले ५५ हजार तथा डेभलपमेन्ट श्रेणीले ३५ हजार रूपैयाँ मासिक पारिश्रमिक प्राप्त गर्ने क्यानका प्रवक्ता छुम्बी लामाले जनाएका छन् । यसअघि क्यानले ‘ए’ श्रेणीका लागि एक लाख, ‘बी’का लागि ७० हजार, ‘सी’ का लागि ५५ हजार, डोमेस्टिकका लागि ३५ हजार र इमर्जिङका लागि २५ हजार रू पैयाँ तलब तोकेको थियो ।
महिला खेलाडीमध्ये ‘ए’ श्रेणीले ५५ हजार, ‘बी’ श्रेणीले ४० हजार, ‘सी’ श्रेणीले ३० हजार तथा डेभलपमेन्ट श्रेणीले २५ हजार रूपैयाँ मासिक तलब पाउने प्रवक्ता लामाले बताएका छन् । यसअघि क्यानले ‘ए’ श्रेणीकालाई ५०, ‘बी’कालाई ३५, ‘सी’कालाई २५ र ‘डी’का लाई मासिक २० हजार रूपैयाँ दिँदै आएको थियो ।
त्यसैगरी, पुरुष तथा महिला दुवै टोलीका खेलाडीले टी–२० अन्तर्राष्ट्रियतर्फ प्रतिखेल १० हजार रूपैयाँ र एकदिवसीय अन्तर्राष्ट्रियतर्फ प्रतिखेल १५ हजार रूपैयाँ म्याच फी प्राप्त गर्ने क्यानले जनाएको छ ।