नेपालले अमेरिकालाई १२२ रनले पराजित गरेको छ । आइसीसी लिग-२ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ठूलो रन अन्तरले विजयी हासिल गरेको हो ।
नेपालले दिएको ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४१.२ ओभरमा १९५ रनमात्र बनाउन सक्यो । अमेरिकाका लागि संजय कृष्णमूर्तिले सर्वाधिक ५६ रन बनाए । त्यस्तै सयान जहंगीरले २७, सेहन जयसूर्यले २६ र सैतेजा मुक्कामालाले १२ रन बनाए । त्यसअघि कप्तान रोहित पौडेल र इशान पाण्डेको शतकीय साझेदारीमा नेपालले अमेरिकालाई ३१८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७ रन बनाएको थियो ।
नेपालको लागि इशान पाण्डेले सर्वाधिक ८४ रन बनाए । उनले ८३ बलमा ८ चौका र १ छक्का प्रहार गरे । उनले तेस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग ११० रनको शतकीय साझेदारी बनाएका थिए । आसिफले पहिलो विकेटको लागि ओपनर कुशल भुर्तेलसँग ६९ रनको साझेदारी बनाउँदै राम्रो सुरुवात गरेका थिए । कुशल भुर्तेलले ३९ बलमा २९ रन बनाउँदै क्याच भए ।
आसिफ शेखले ४३ रन बनाए । कप्तान रोहित पौडेलले ४६ रन बनाउँदै एलबीडब्ल्यू आउट भएका हुन् । गुल्सन झा १५ रनमा क्याच भए । दिपेन्द्र सिंह ऐरी ५९ रनमा रनआउट भए । उनले ३८ रनमा साइतेजा मुक्कामल्लाबाट क्याच ड्रपको रुपमा जिवनदान पाएका थिए । सोमपाल कामी छ र नन्दन यादव १ रनमा रनआउट भए । आरिफ शेख १८ रनमा अविजित भए ।
शीर्षस्थानमा रहेको अमेरिकाको यो नवौं हार हो । ३८ अंकसहित अमेरिका शीर्षस्थानमा कायमै छ । नेपालको भने २८औं खेलमा ११औं जित हो । २२ अंकसहित पाँचौं स्थानमा कायमै रहेको छ । यो सिरिजमा नेपालले खेलेको ४ मध्ये ३ खेल जित्न सफल रह्यो ।