काठमाडौं महानगरद्वारा ‘एआई कल सेन्टर’ सुरु

Yangle News
Yangle News
२०८३ जेष्ठ १ गते
काठमाडौं महानगरद्वारा ‘एआई कल सेन्टर’ सुरु

काठमाडौं महानगरपालिकाले एआईमा आधारित कल सेन्टर सुरु गरेको छ । यस प्रविधिबाट एकैपटक १५ जनासँग सम्पर्क गर्न सकिने जनाइएको छ ।

स्मार्ट वडा बनाउने भन्दै कामपा वडा नम्बर १७ ले एआईको सहयोगमा नागरिकलाई वडासँग जोड्ने कार्य गर्नका लागि उक्त सेवा सञ्चालन गरेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । उनका अनुसार ०१-५९७१९८९ मा फोन डायल गरेपछि महिलाको स्वर सुनिन्छ । उनले भन्छिन्, ‘काठमाडौँ वडा १७ को एआई सेवामा स्वागत छ । म तपाईलाई आज कसरी सहयोग गर्न सक्छु ?’ यति आवाज आएपछि बोल्ने पालो तपार्इँको । तपाईँ वडाबाट कस्तो सूचना लिन चाहनुहुन्छ ? त्यो बोलेपछि एआईले जवाफ फकाउँछ ।

यदि एआईसँग जवाफ रहेछ भने तत्काल सोधेको प्रश्नको उत्तर दिनेछ । यदि जवाफ रहनेछ भने भन्नेछ, माफ गर्नुहोस् । म यो प्रश्नको जवाफ दिन असमर्थ छु । म तपाईंलाई हाम्रो एजेन्टसँग जोड्दैछु । यति भनेपछि कल वडाका कर्मचारीलाई पठाउँछ । वडाले वडावासी र सेवाग्राहीलाई सेवा र सूचनासँग जोड्न एआई प्रविधिमा आधारित कल सेन्टर सञ्चालनमा ल्याएपछि वडासँग सम्बन्धित प्रश्नको जवाफ फोनबाटै प्राप्त गर्न सकिन्छ ।

नागरिक वडापत्रमा भएका सबै विषयको बारेमा समेत एआईले जवाफ दिन सक्छ । १५ जनाले एकैपटक फोन गर्दा पनि एक साथ जवाफ प्राप्त गर्न सकिन्छ ।