‘साझा समस्यासँग जुध्न विश्व समुदायबीच सामूहिक प्रयास जरुरी छ’

Yangle News
Yangle News
२०८२ जेष्ठ २ गते
‘साझा समस्यासँग जुध्न विश्व समुदायबीच सामूहिक प्रयास जरुरी छ’

जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने उद्देश्य राखेर सरकारले आयोजना गरेको सगरमाथा संवाद आजदेखि काठमाडौंमा सुरु भएको छ ।

जेठ ४ गतेसम्म सञ्चालन हुने कार्यक्रममा विज्ञ एवं विषयज्ञाता र अनुसन्धानकर्ताको गहन छलफल एवं विचार आदानप्रदान तथा विश्लेषणका माध्यमबाट जलवायु परिवर्तन र पर्वतीय समस्या समाधान तथा सम्भावनामा जोड दिइने छ । नेपालले संरक्षणमा गरेको आफ्ना असल अभ्यासबारे विश्वलाई जानकारी गराउन र जलवायु संकट समाधानमा विश्वका असल अभ्यास तथा समाधानका उपाय सिक्नका लागि संवाद उपयोगीसिद्ध हुने अपेक्षा राखिएको छ ।

नेपालले आयोजना गरेको सगरमाथा सम्वाद कार्यक्रमका सहभागीहरुले हिमाल मानव सभ्यताको जननी, संस्कृतिको उद्गम र प्रकृतिको उपहार भएकाले यसको संरक्षण आवश्यक भएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालविना मानव सभ्यतासमेत सम्भव नभएको चर्चा गरेका छन् । उद्घाटन सत्रमा प्रधानमन्त्री ओलीले मानव जीवन र हिमालको अन्योन्याश्रित सम्बन्ध भएकाले हिमाल बचाउनु मानव सभ्यता बचाउनु भएको बताए । यसका लागि विश्वव्यापी सहकार्य र समन्वय आवश्यक भएको उनको भनाइ छ । ‘हिमाल कालो हुँदै जाँदा र हिमताल बन्दै जाँदा हिमाली क्षेत्रका बासिन्दा मात्र नभई तल्लो तटीय क्षेत्र र मुलुकलाई समेत उत्तिकै असर परिरहेको छ । यस्तो साझा समस्यासँग जुध्न विश्व समुदायबीच सामूहिक प्रयास जरुरी छ,’ उनले भने ।

कार्यक्रममा पराराष्ट्र मन्त्री डा. आरजु देउवा राणाले जलवायु परिवर्तनको असर विशेष गरेर हिमाली क्षेत्रमा बढी परिरहेकाले हिमाली क्षेत्रको बासिन्दाले असाधारण समस्या भोग्नु परिरहेको बताइन् । नेपालले सन् २०४५ सम्म शुन्य हरितगृह ग्यास उत्सर्जनको लक्ष्य लिएको बताउँदै मन्त्री राणाले त्यो लक्ष्य पूरा गर्न नेपाललाई जलवायु वित्तको आवश्यकता रहेको बताइन् । उनले भनिन्, ‘जलवायु परिवर्तनको मुद्दा अब विश्वको समस्या भएकाले यसले सिंगो मानवतालाई नै संकटमा पारिरहेको छ । विश्वव्यापी संकटसँग जुध्नका लागि कुनै पनि देशको आफ्नो एक्लो प्रयास पर्याप्त हुँदैन ।’ नेपालले हालैका वर्षहरूमा विनाशकारी तथा श्रृंखलाबद्ध गम्भीर मौसमी समस्याहरु भोगिरहेको बताउँदै उनले बाढी, हिमनदी विस्फोटन, खडेरी, पानीको अभाव र वन डढेलोजस्ता समस्याले देशभर ठूलो क्षति भएको उल्लेख गरिन् ।

कार्यक्रममै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिमालहरुको हेरचाहबाट नै मानवताको भविष्य निर्भर हुने बताए । ‘हिमालमा जति हिउँ पग्लिन्छ त्यसले नै सम्पूर्ण मानवताको भविष्य निर्धारण गर्छ,’ उनले भने, ‘हिमनदीहरूको संरक्षण गर्ने तथा विश्वव्यापी तापक्रमलाई १ दशमलव ५ डिग्री सेल्सियसमा सिमित गर्ने कार्य छनौटको विषय नभइ अनिवार्यताको विषय भएको छ ।’ जलवायु परिवर्तन केवल प्राविधिक चुनौती मात्र नभइ गहन नैतिक परीक्षा भएकाले निर्णायक घडीमा उभिने समय भएको मन्त्री शाहीले बताउनुभयो ।

सम्वादमा भारत, चीन, भूटान, बेलायत, जापान लगायतका मुलुकबाट उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी छन् । विदेशी राजनीतिक नेतृत्वसहित जलवायु विज्ञ, अध्येता, वैज्ञानिक, अनुसन्धानदाता गरी १ सय ७५ जनाले सम्वादमा भाग लिएका छन् । नेपालबाट पनि १ सय ७५ जनाभन्दा बढीको सहभागिता छ । सम्वादमा हिमाल र समुन्द्रको सम्बन्ध, हरित अर्थतन्त्र, जलवायु न्याय र मानवको भविष्य, जलवायु परिवर्तन र हानिनोक्सानी, क्षेत्रीय र विश्व सहयोग तथा समन्वय पाँचवटा मूल विषयमा १२ वटा समानान्तर सत्र सञ्चालन गरिने भएका छन् ।