बैंकहरुले जेठ महिनाका लागि कायम गरिएको ब्याजदरको सूचना आज प्रकाशित गरेको छ । हालसम्म प्राप्त सूचनाअनुसार १७ वटा वाणिज्य बैंकमध्ये ६ वटा जेठका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने १० वटा स्थिर राखेका छन् । एउटा भने बढाएको छ ।
ब्याजदर घटाउनेमा एनआईसी एसिया, हिमालयन, स्ट्यान्डर्ड चार्टर्ड, एनएमबि, सिटिजन्स र नेपाल बैंक रहेका छन् । जेठका लागि एनआईसी एसियाले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएर ४.५० प्रतिशत, हिमालयनले ४.२५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्डले ४ प्रतिशत, एनएमबिले ४.८० प्रतिशत, सिटिजन्सले ४.१० प्रतिशत र नेपाल बैंकले ४.२५ प्रतिशत कायम गरेका छन् । वैशाखमा एनआईसी एसियाले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ४.७५ प्रतिशत, हिमालयनले ४.५० प्रतिशत, स्ट्यान्डर्ड चार्टर्डले ४.१० प्रतिशत, एनएमबिले ४.९० प्रतिशत, सिटिजन्सले ४.१५ प्रतिशत र नेपाल बैंकले ४.५० प्रतिशत निर्धारण गरेका थिए ।
यसैगरी ब्याजदर स्थिर राख्नेमा नबिल, नेपाल इन्भेस्टमेन्ट मेगा, एसबीआई, एभेष्ट, प्राइम कमर्सियल, ग्लोबल आइएमई, माछापुच्छ्र, प्रभु, कृषि विकास र राष्ट्रिय वाणिज्य बैंक छन् । जेठमा व्यक्तिगत मुद्दति निक्षेपमा नबिलले ४.५५ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगाले ४.५० प्रतिशत, एसबीआई ४.२५ प्रतिशत, एभेष्टले ४.०५ प्रतिशत, प्राइम कमर्सियलले ४.१५ प्रतिशत, ग्लोबल आइएमईले ४.५० प्रतिशत, माछापुच्छ्रले ४.५० प्रतिशत, प्रभुले ४.५५ प्रतिशत, कृषि विकासले ४.१५ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले ४.७५ प्रतिशत ब्याज दिने भएका छन् । वैशाखमा यी बैंकले यति नै ब्याज दिएका थिए ।
ब्याजदर बढाउनेमा सिद्धार्थ बैंक रहेको छ । सिद्धार्थले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर बढाएर जेठमा ४.०५ प्रतिशत कायम गरेको छ । वैशाखमा ४ प्रतिशत दिएको थियो ।
उता राष्ट्रियस्तर अधिकांश विकास बैंकले ब्याजदर घटाएका छन् । जेठका लागि लुम्बिनी, मुक्तिनाथ, कामना सेवा र सांग्रिलाले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । जेठमा अब लुम्बिनीले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ४.८५ प्रतिशत, मुक्तिनाथले ४.८१ प्रतिशत, कामना सेवाले ४.८५ प्रतिशत र सांग्रिलाले ४.८१ प्रतिशत ब्याज दिने भएका छन् । वैशाखमा लुम्बिनीले ५ प्रतिशत, मुक्तिनाथ ४.९५ प्रतिशत, कामना सेवाले ५ प्रतिशत र सांग्रिलाले ४.९५ प्रतिशत ब्याज दिएका थिए ।
राष्ट्रियस्तरका विकास बैंकमध्ये गरिमा र महालक्ष्मीले वैशाखकै ब्याजदर क्रमशः ५.४३ प्रतिशत र ४.९५ प्रतिशतलाई जेठमा निरन्तरता दिने भएका छन् ।