एसईई नतिजा प्रकाशित भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार सम्मेलन आयोजना गरेर राष्ट्रिय परीक्षाा बोर्डले सोमबार साँझ नतिजा सार्वजनिक भएको जानकारी दिएको हो ।
यस वर्ष ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । यो नतिजा गत वर्षभन्दा ४.१७ प्रतिशतले बढेको हो । २०८१ मा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडड भएका थिए । यसवर्ष परीक्षामा सबैभन्दा बढी जीपीए (३.६० देखि ४.००) ल्याउने विद्यार्थीको संख्या ४८ हजार ३ सय ९२ छ । ४ लाख ३० हजार ६६७ विद्यार्थीमध्ये सबैभन्दा बढी ३.६० देखि ४.०० जीपीए ल्याउनेको छ ।
जीपीए ३.२० देखि ३.६० सम्म ल्याउने विद्यार्थीको संख्या ८० हजार ३७२ रहेको छ । २.८० देखि ३.२० सम्मको जीपीए ल्याउने विद्यार्थीको संख्या ९४ हजार २२२ रहेको छ । ५५ हजार ९७७ विद्यार्थीले यस वर्ष २.४० देखि २.८० जीपीए ल्याएका छन् । जीपीए २.०० देखि २.४० सम्म ल्याउने विद्यार्थीको संख्या ५ हजार १९० रहेका छन् । १.६० देखि २.०० जीपीए ल्याउने विद्यार्थीको संख्या ७ जना रहेको बोर्डले जनाएको छ ।
परीक्षामा सहभागीमध्ये १ लाख ४६ हजार ५०७ विद्यार्थी ननग्रेडेड भएका छन् । ननग्रेडेड विद्यार्थी संख्या अघिल्लो वर्षको तुलनामा २१ हजारले घटेको हो । त्यतिबेला १ लाख ६७ हजारभन्दा बढी ननग्रेडेड थिए । २०८१ मा ४ लाख ३० हजार ६६७ विद्यार्थी सहभागी थिए । एसईईको पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी असार १ गतेदेखि हुने भएको छ । बोर्डले पूरक परीक्षा असार १ गते सोमबारदेखि ९ गतेसम्म हुने जनाएको हो । अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउनेछन् ।
यस वर्षको एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । यस पटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गरिएको हो । परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए । जसमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना थिए ।