नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनस्थल भक्तपुरको सल्लाघारीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । महाधवेशनस्थलसँगै सहभागी नेता, कार्यकर्ता, समर्थकको सुरक्षाका लागि विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी टोली बिहानैबाट परिचालन भएको हो ।
प्रहरीले बिहानैदेखि विस्फोटक पदार्थ तथा हतियार सुँघेर पत्ता लगाउने तालिमप्राप्त कुकुर र बम डिटेक्टर उपकरणसहित सक्रिय भएका छन् । भक्तपुर सल्लाघारीको सार्वजनिक जग्गामा हुन लागेको महाधिवेशन मध्याह्न १२ बजेदेखि शुरु हुँदैछ ।
महाधिवेशनको उद्घाटनसत्र सल्लाघारीमा र बाँकी कार्यक्रम काठमाडौंको भृकुटीमण्डपमा हुने छ । सल्लाघारीस्थित एक सय ८ रोपनी क्षेत्रफलको चौरमा हुने उद्घाटन कार्यक्रममा तीनलाखको उपस्थिति रहने एमालेले जनाएको छ । महाधिवेशनमा करिब २ सय बढी वेषभूषाका झाँकी पनि प्रदर्शन हुनेछन् । यसपटक एमालेले विदेशी अतिथिलाई निमन्त्रणा गरेको छैन । महाधिवेशनमा ५ सय बढी स्वयंसेवकलाई ड्रेस कोडमा परिचालन गरिएको छ ।
एमालेले १०८ जना प्रतिनिधि मनोनयन गरेको छ । शुक्रबार बसेको बैठकले उनीहरूलाई महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको हो । वैधानिक व्यवस्थाबमोजिम ५ प्रतिशत मनोनयन गर्न पाउने संख्या १०८ कायम गरिएको छ । जुन सचिवालय बैठकले चयन गरेको हो । योसँगै ३०९ जना केन्द्रीय सल्लाहकारहरू समेत गरी महाधिवेशनमा कुल सहभागी संख्या २ हजार ५७१ हुने भएको छ ।