एनभीए लिग : रुकुम पश्चिम र पुलिस च्याम्पियन

Yangle News
Yangle News
२०८३ बैशाख १९ गते
एनभीए लिग : रुकुम पश्चिम र पुलिस च्याम्पियन

लिग चरणमा व्यहोरेको बदला लिँदै रुकुम पश्चिम भलिबल केन्द्र र नेपाल पुलिस क्लब दशौं प्रधानमन्त्री कप महिला तथा पुरुष एनभीए लिगमा च्याम्पियन भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार (वैशाख १९) सम्पन्न फाइनलमा बदला लिँदै रुकुम पश्चिम पुरुषमा र पुलिस महिलामा च्याम्पियन भएका हुन् ।

महिलामा नेपाल पुलिसले न्यु डायमण्ड क्लबमाथि ३-१ को सेटमा रोमाञ्चक जितसँगै उपाधि उचाल्यो । पुरुषतर्फ फाइनलमा रुकुम पश्चिमले हेल्प नेपाल स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा हरायो । पुलिस र रुकुम पश्चिम दुवैले लिग चरणमा व्यहोरेको हारको बदला लिएका हुन् ।

लिगको अन्तिम खेलमा शुक्रबार न्यु डायमण्डले पुलिसमाथि ३-२ को सेटमा जितसँगै अपराजित हुँदै उपाधि भिडन्त गरेको थियो । रुकुम पश्चिम भने लिगमा हेल्प नेपालसँग ३-० को सोझो सेटमा पराजित भएको थियो ।

पुलिसले तेस्रोपल्ट च्याम्पियन हुने लक्ष्यसहित काभा क्लब च्याम्पियनसिपका लागि पनि छनोट भएको छ । पुनम चन्दको स्थानमा अवसर पाएकी लक्ष्मी चन्दले उत्कृष्ट प्रदर्शन गर्दै पुलिसले सफलता पायो । रिसिभमा पनि धेरै सुधार गरेपछि पुलिसलाई न्यु डायमण्डमाथि बदला लियो । पुलिसले पहिलो सेट २५-२१ ले आफ्नो बनायो । तर, न्यु डायमण्डले दोस्रो सेट २५-१६ ले जित्दै पुनरागमनको संकेत गर्‍यो ।

तेस्रो सेट भने निकै प्रतिस्पर्धात्मक बन्यो । यो सेट अन्ततः पुलिसले २५-२३ ले जित्दै फेरि अग्रता लियो । चौथो सेटमा १८-१८ स्थितिसम्म पुलिसले चुनौती दियो । तर, यहाँबाट न्यु डायमण्ड सम्हालिन सकेन र यो सेट २५-१९ ले गुमाउँदै उपाधिबाट पनि वञ्चित भयो । पुलिस चौथोपल्ट च्याम्पियन भएको हो ।

पुरुषतर्फको फाइनल पनि रोमाञ्चक बन्यो । रुकुम पश्चिम र हेल्प नेपाल दुवैले तीन विदेशी खेलाडी अनुबन्ध गरेका थिए । लिगमा रुकुम पश्चिमले राम्रो गर्न सकेन । तर, फाइनलमा भने उत्कृष्ट प्रदर्शन गर्‍यो र पहिलोपल्ट च्याम्पियन भयो । रुकुम पश्चिम भलिबल केन्द्रले हेल्प नेपाल स्पोर्ट्स क्लबलाई पहिलो सेट २९-२७, दोस्रो सेट २५-२१ र तेस्रो सेट ३२-३० को रोमाञ्चक रूपमा हरायो ।

महिलामा विजेता पुलिसले र पुरुषमा विजेताले १० लाख रुपैयाँ र ट्रफी प्राप्त गरे । महिलामा उपविजेता न्यु डायमण्ड र पुरुषमा उपविजेता हेल्प नेपालले समान पाँच लाख रुपैयाँ पाए । एभरेस्ट महिला भलिबल क्लव र पुरुषमा नेपाल पुलिस क्लब तेस्रो भए । दुवैले दुई लाख ५० हजार रुपैयाँ प्राप्त गरे । नेपाल भलिबल संघ (एनभीए)को आयोजना भएको एनभीए लिगमा महिलातर्फ ६ र पुरुषमा आठ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

गत पुसमा सम्पन्न एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपबाट छनोट भएका कुल १४ टोलीले यस लिगमा प्रतिस्पर्धा गरेका हुन् । पुरुषमा हेल्प नेपाल, आर्मी क्लब, लुम्बिनीको खिल्जीसँगै नेपाल पुलिस क्लब, एपीएफ, पश्चिम रुकुम भलिबल टिम, कोसी प्रदेश र बूढानीलकण्ठले प्रतिस्पर्धा गरेका थिए । महिलामा भने न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब, पुलिस, एपीएफ, सुदूरपश्चिम प्रदेश, एभरेस्ट र आर्मी क्लबको प्रतिस्पर्धा रह्यो ।