नापी तथा मालपोत सेवा स्थानीय तहबाटै सञ्चालन गर्ने तयारी

Yangle News
Yangle News
२०८३ बैशाख १७ गते
नापी तथा मालपोत सेवा स्थानीय तहबाटै सञ्चालन गर्ने तयारी

स्थानीय तहबाटै नापी तथा मालपोत सेवा प्रवाह गर्ने सरकारको योजना अनुसार देशभरका २०७ वटा पालिकाले इच्छा व्यक्त गरेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले एक साताअघि इच्छुक पालिकाहरूलाई सहभागी हुन आह्वान गरेको सूचना अनुसार बिहीबारसम्म दुई सय सात स्थानीय तहले निवेदन पेस गरेका हुन् ।

मन्त्रालयका अनुसार निवेदन दिने पालिकाहरूमा धरान, घोराही र धनगढी उपमहानगरपालिकाका साथै हुम्लाको सर्केगाड, इलामको चुलाचुली, सर्लाहीको चक्रघट्टा र कञ्चनपुरको बेलडाँडी गाउँपालिका रहेका छन् । यसैगरी भरतपुर र पोखरा महानगरपालिकाले समेत आफ्नै कार्यक्षेत्रबाट नापी तथा मालपोत सेवा दिन तयार रहेको जानकारी मन्त्रालयलाई गराएका जानकारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलको सचिवालयले दिएको छ ।

प्राप्त निवेदनहरूमाथि मन्त्रालयले अध्ययन सुरु गरिसकेको छ । चरणबद्ध रूपमा सेवा हस्तान्तरण गर्ने योजनाअनुसार पहिलो चरणमा केही पालिका छनोट गरी प्रक्रिया अगाडि बढाइने मन्त्रालयले जनाएको छ । पालिका छनोट गर्दा सेवाग्राहीको चाप, भौगोलिक पहुँच र व्यवस्थापन क्षमतालाई मुख्य आधार बनाइने छ । विशेषगरी सेवाग्राहीको बढी भिडभाड हुने र दुर्गम क्षेत्रका पालिकालाई प्राथमिकतामा राख्ने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलको सचिवालयले स्पष्ट पारेको छ ।

मन्त्रालयले बिहीबार नै सम्बन्धित जिल्लाका नापी तथा मालपोत कार्यालयका अधिकारीहरूलाई स्थलगत अनुगमन गरी वस्तुस्थितिको रिपोर्ट बुझाउन पत्राचार गरेको छ । स्थलगत प्रतिवेदन प्राप्त भएलगत्तै ती पालिकामा आवश्यक प्राविधिक उपकरण र जनशक्तिको व्यवस्थापन गरिने छ । यसका साथै मन्त्रालयले स्थानीय तहमा खटिने कर्मचारीहरूका लागि आवश्यक सामग्री र तालिमको समेत व्यवस्था गर्ने तयारी गरेको छ ।

आउँदो एक साताभित्रै सम्पूर्ण तयारी पूरा गरी पहिलो चरणका केही पालिकाहरूमा औपचारिक रूपमै सेवा हस्तान्तरण गर्ने मन्त्री रावलको सचिवालयले जनाएको छ । यस कदमले मालपोत र नापीसम्बन्धी कामका लागि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको छ ।