‘अस्पताल वा स्वास्थ्य संस्थाभित्र स्वीकृति विना फोटो, भिडिओ नखिच्नू’

Yangle News
Yangle News
२०८३ बैशाख १६ गते
‘अस्पताल वा स्वास्थ्य संस्थाभित्र स्वीकृति विना फोटो, भिडिओ नखिच्नू’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालभित्र फोटो भिडिओ नखिच्न आग्रह गरेको छ ।

पछिल्लो समयमा केही व्यक्तिहरूले अस्पताल तथा स्वास्थ्य संस्था परिसरभित्र स्वीकृति विना प्रवेश गरी बिरामी र स्वास्थ्यकर्मीहरूको फोटो तथा भिडियो खिच्ने, अन्तर्वार्ताको नाममा भिडभाड गर्ने र स्वास्थ्य उपचारमा खटिएका चिकित्सक तथा कर्मचारीहरूको कार्यसम्पादनमा अवरोध पुर्याउने गरेको जनगुनासो प्राप्त भएको भन्दै यस प्रकारको कार्यले बिरामीको गोपनीयताको हनन् हुनुका साथै संवेदनशील क्षेत्रमा अशान्ति फैलिन गई समग्र उपचार प्रक्रियामा नै गम्भीर असर परेको मन्त्रालयले जनाएको छ ।

‘अस्पतालजस्तो संवेदनशील क्षेत्रमा स्वीकृति विना भिडिओ बनाउने, चिकित्सक तथा कर्मचारीलाई अमर्यादित तवरले प्रस्तुत हुने वा अनुचित दबाब दिने कार्य प्रचलित कानुनको ठाडो उल्लंघन हो’ मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ को दफा ३ ले उपचारमा बाधा पार्न नहुने स्पष्ट व्यवस्था गरेको छ ।’

सोही दफाको खण्ड (च)मा ‘स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात गर्ने, कुनै किसिमले धम्की दिने, गाली गलौज गर्ने वा अभद्र वा अपमानजनक व्यवहार गर्न’ नपाइने स्पष्ट कानुनी व्यवस्था रहेको छ । साथै मुलुकी अपराध संहिता २०७४ को दफा २९५ मा अनुमति बिना कुनै व्यक्तिको तस्बिर खिच्न नहुने भन्ने व्यवस्था रहेको पनि मन्त्रालयले स्मरण गराएको छ ।

विज्ञप्तिमा अस्पताल/स्वास्थ्य संस्था परिसरभित्र सम्बन्धित संस्थाको अनुमति नलिई फोटो/भिडिओ नखिच्नु तथा प्रकाशन/प्रसारण नगर्न अनुरोध गर्दै मन्त्रालयले उक्त कानुनको बर्खिलाप हुने गरी कसैले उल्लिखित कार्य गरे र गराएमा प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनीसमेत दिएको छ ।

प्रेस विज्ञप्ति :

Yangle News