४५ वर्षको अन्तरालमा एउटै होटलमा दुई अमेरिकी राष्ट्रपतिको हत्या प्रयास

Yangle News
Yangle News
२०८३ बैशाख १३ गते
४५ वर्षको अन्तरालमा एउटै होटलमा दुई अमेरिकी राष्ट्रपतिको हत्या प्रयास

सन् १९८१ मा अमेरिकी राष्ट्रपति रोनाल्ड रिगन र सन् २०२६ मा डोनल्ड ट्रम्पमाथि एउटै होटेलमा ज्यान लिने प्रयास भयो । तर, उनीहरू त्यसबाट बच्न सफल भए ।

वासिङ्टनको हिल्टन होटेलमा अप्रिल २५ को राति चलिरहेको ‘ह्वाइट हाउस संवाददाता रात्रिभोज’ अचानक रणभूमिमा परिणत भयो । धेरै वर्षको बहिष्कारपछि पहिलोपटक यस कार्यक्रममा सहभागी भएका राष्ट्रपति ट्रम्पलाई लक्षित गरी अन्धाधुन्ध गोली प्रहार भयो । त्यसपछि सुरक्षा टोलीले उनी र प्रथम महिला मेलानिया ट्रम्पलाई सुरक्षित रूपमा बाहिर निकाल्यो ।

‘ह्वाइट हाउस संवाददाता रात्रिभोज’ चलिरहँदा ३१ वर्षीय कोल थोमस एलेनले सुरक्षा चेकपोइन्टमा आक्रमण गरेका थिए । कार्यक्रम सुरु भएको केही समयमै हलको पछिल्लो भागबाट गोलीको आवाज सुनियो । सीएनएन र न्युयोर्क टाइम्सका अनुसार त्यहाँ उपस्थित सयौं पत्रकार र विशिष्ट पाहुनाहरू ज्यान जोगाउन टेबलमुनि लुकेका थिए । गोली चल्नासाथ ‘सिक्रेट सर्भिस’का एजेन्टहरूले हतियार तानेर स्टेज घेराबन्दी गरेका थिए । राष्ट्रपतिबाहेक उपराष्ट्रपति जेडी भान्स, अर्थमन्त्री स्कट बेसेन्ट र एफबीआई निर्देशक काश पटेललाई पनि सुरक्षित स्थानमा लगिएको थियो ।

आक्रमणको केही समयपछि राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा यसबारे भनेका छन्, ‘डीसीमा आजको साँझ निकै हलचलपूर्ण रह्यो । सेक्रेट सर्भिस र सुरक्षा एजेन्सीहरूले अत्यन्तै बहादुरी र कुशलतापूर्वक काम गरे । सुटर पक्राउ परिसकेको छ । मैले कार्यक्रम जारी राख्न सुझाव दिएको छु, तर म सुरक्षा निकायको निर्णय र निर्देशनलाई पूर्ण रूपमा पालना गर्नेछु ।’

अमेरिकी सिक्रेट सर्भिसले ट्रम्प, प्रथम महिला मेलानिया र उपराष्ट्रपति जेडी भान्सलाई सुरक्षित रूपमा बाहिर निकालेको थियो । एक सेक्रेट सर्भिस एजेन्टलाई गोली लागे पनि बुलेटप्रुफ ज्याकेटका कारण उनको ज्यान जोगिएको छ । एलेनले धेरै हतियार बोकेका थिए र उनी होटेलकै पाहुना थिए । प्रहरीले उक्त आक्रमणलाई कुनै समूहको योजनाबद्ध घटना नभई उनको एकल आक्रमण प्रयासका रूपमा लिएको छ ।

यो घटना त्यही होटेलमा भएको हो, जहाँ ३० मार्च १९८१ मा तत्कालीन राष्ट्रपति रोनाल्ड रिगनमाथि जोन हिन्क्ली जुनियरले गोली चलाएका थिए । होटेलबाट बाहिर निस्केर आफ्नो कारतर्फ जाँदै गर्दा हिन्क्लीले रिगनमाथि ६ राउन्ड गोली चलाएका थिए । एउटा गोली उनको कारमा ठोक्किएर रिगनको छातीमा पसेको थियो । उनको करङ भाँचिएको थियो र फोक्सोमा चोट लागेको थियो । तर, गोली मुटुबाट थोरैले जोगिएको थियो ।

गम्भीर घाइते अवस्थामा पनि रिगन आफैँ हिँडेर अस्पतालभित्र पसेका थिए । रगत वान्ता गरिरहेका उनलाई जर्ज वासिङ्टन विश्वविद्यालय अस्पताल लगिएको थियो । उपचारअघि उनले ठट्टा गर्दै डाक्टरहरूलाई भनेका थिए, ‘आशा छ तपाईंहरू सबै रिपब्लिकन हुनुहुन्छ !’

Yangle News

हिन्क्लीले चर्चित अभिनेत्री जोडी फोस्टरलाई प्रभावित पार्न उक्त आक्रमण गरेका थिए । उनलाई मानसिक रूपमा अस्वस्थ घोषित गरी सन् २०१६ सम्म निगरानीमा राखिएको थियो । ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरका लागि चर्चित भए पनि स्थानीय रूपमा यस होटेललाई ‘हिन्क्ली हिल्टन’ वा ‘रिगन होटेल’ भनेर चिनिन्छ । सन् १९८१ को घटनापछि यो होटेल सुरक्षाका दृष्टिले विश्वभर चर्चामा रहँदै आएको छ ।

सन् १९८१ को घटनामा प्रेस सचिव जेम्स ब्राडीको टाउकोमा गोली लागेको थियो । उनको सन् २०१४ मा निधन भयो । प्रहरी थोमस डेलेहान्टीको घाँटीमा गोली लागेको थियो भने सेक्रेट सर्भिसका कर्मचारी टिम म्याकार्थी राष्ट्रपतिलाई बचाउन खोज्दा पेटमा गोली लागेको थियो ।

राष्ट्रपति ट्रम्पले विगतका वर्षहरूमा यस भड्किलो कार्यक्रमलाई बहिष्कार गर्दै आएका थिए । राष्ट्रपतिको रूपमा उनी पहिलोपटक यस डिनरमा सहभागी भएकै रात यस्तो भयानक घटना हुनु संयोग मात्र नभई ऐतिहासिक समानता जस्तो देखिएको छ ।