चौतर्फी दबाबपछि गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार प्रधानमन्त्री वालेन्द्र शाहलाई राजीनामा बुझाएका हुन् ।
विवादस्पद व्यवसायी दिपक भट्टसँग नाम जोडिएपछि उनी राजीनामा दिन बाध्य भएका हुन् । उनी गत चैत १३ मा शाह नेतृत्वको सरकारमा गृहमन्त्री बनेका थिए । पदभार सम्हालेको २६ दिनमै उनी पदमुक्त भएका हुन् ।
सत्ताधारी दल रास्वपाकै नेताहरूसहित विपक्षी दलहरूले गुरुङले राजीनामा दिनुपर्ने माग गरेका थिए । गुरुङले आफूमाथि लगाइएको आरोप झुटो रहेको बताउँदै आएका छन् । यद्यपि, छानबिनमा सघाउन राजीनामा दिएको उनको भनाइ छ । उनले आफूमाथि निष्पक्ष छानबिन हुनुपर्ने मागसमेत गरेका छन् ।
के भने सुधन गुरुङले ?
म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु । पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु । मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन । आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको Gen Z आन्दोलनले पनि यही सन्देश दिएको छ- सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ । मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो । त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु । मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु । अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ ।कति मिडियाकर्मी साथी हरु को कहा कहा स्वीट शेयर छ बिस्तारै आऊला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ ।